दिल्लीको शानदार प्रदर्शन, लखनउ ८ विकेटले पराजित

  • Image नेप्लेज
  • ९ वैशाख २०८२, मङ्गलवार
  • 2361 पटक हेरिएको
दिल्लीको शानदार प्रदर्शन, लखनउ ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली क्यापिटल्सले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै छैटौं जित दर्ता गरेको छ।

मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफ दौडमा आफ्नो सम्भावना बलियो बनाएको हो।

१६० रनको मध्यम लक्ष्य पछ्याउने क्रममा दिल्लीका ओपनरद्वय केएल राहुल र अभिषेक पोरेलले अर्धशतकीय इनिङ खेलेर टोलीलाई जितको नजिक पुर्‍याए। राहुल ५७ रनमा अविजित रहे भने पोरेलले ५१ रनको योगदान दिए। यी दुईबीच पहिलो विकेटका लागि ९८ रनको साझेदारी बनेको थियो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान अक्षर पटेलले पनि आक्रामक ब्याटिङ गर्दै ३४ रन बनाएर टोलीलाई सहज जित दिलाए।

दिल्लीले लक्ष्य १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। लखनउका लागि एइडेन मार्क्रमले मात्र सफलता पाए, जसले दुई विकेट लिए। तर बाँकी बलरहरूले खासै प्रभाव जमाउन सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। एइडेन मार्क्रमले ५२ रनको अर्धशतकिय इनिङ खेले भने मिचेल मार्शले ४५ रन बनाए। आयुष बदोनीले पनि ३६ रनको उपयोगी योगदान दिए।

तर, दिल्लीका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै लखनउलाई ठूलो स्कोर बनाउनबाट रोके। दिल्ली क्यापिटल्सको बलिङतर्फ ललित यादव, इशान्त शर्मा र कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी ब्याटिङ लाइनअपलाई नियन्त्रणमा राखेका थिए।

यो जितसँगै दिल्ली क्यापिटल्स ८ खेलबाट ६ जित र २ हारसहित १२ अंकमा पुगेको छ।