काठमाडौं। नेदरल्यान्ड्सलाई पराजित गर्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुर्याएकाे छ।
सिग्नल इडुना पार्कमा बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड उपाधिनजिक पुगेको हो।
नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उनको यो युरो कपको पहिलो र अन्तर्राष्ट्रियतर्फ दोस्रो गोल हो।
तर, १८औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फतगोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए।
भली प्रहार गर्नेक्रममा इङ्ल्यान्डका केनलाई डेनजेल डम्फ्रिजले फउल गर्न पुगेका थिए। जर्मनीका रेफ्री फेलिक्स ज्वायरले भिडियो असिस्टेन रेफ्री (भिएआर)को मद्दत लिँदै इङ्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए। उक्त पेनाल्टीलाई केनले सदुपयोग गरेका हुन्।
खेल बराबरीतर्फ उन्मुख थियो। तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओलीले गोल गर्दै इङ्ल्यान्डलाई जित दिलाए।