विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 736 पटक हेरिएको

वेस्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा सन् २०२४ को चलिरहेको टी-२० विश्वकपको फाइनल खेल आज हुँदै छ ।  बार्बाडोसको केन्सिङ्टन ओभलमा नेपाली समय अनुसार राति सवा ८ बजे हुने फाइनलमा भारत र दक्षिण अफ्रिका आमने सामने हुने छन् ।

दुवै टोली हालसम्म जारी प्रतियोगितामा अपराजित छन् ।  दक्षिण अफ्रिका पहिलो पटक कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

भारतले भने डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई हराउँदै उपाधि भिडन्तमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो । 

टी-२० क्रिकेटमा दक्षिण अफ्रिका र भारत बीच २६ खेल भएका छन् । जसमध्ये भारतले १४ खेलमा र दक्षिण अफ्रिकाले ११ खेलमा जित हात पारेको छ । एउटा खेलको भने नतिजा आएको थिएन ।

टी-२० विश्वकपमा पनि दक्षिण अफ्रिकामाथि भारतको दबदबा छ । दुवै टोली ६ पटक भिडेका छन् जसमा भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले दुई खेल जितेको छ ।  

दक्षिण अफ्रिकाको विश्वकप यात्रा

एडेन मार्करामको नेतृत्वमा रहेको दक्षिण अफ्रिकी टोलीले यो विश्वकपमा अहिलेसम्म आठ खेल खेलेको छ र सबै आठमा जित निकालेको छ । मार्करामको टोलीले समूह चरणका चार खेल र सुपर आठ राउण्डमा तीन खेल जितेको थियो । यसपछि सेमिफाइनल जितेर फाइनलमा प्रवेश गरेको हो । समूह चरणमा दक्षिण अफ्रिकाले श्रीलंका, नेदरल्यान्ड्स, बंगलादेश र नेपाललाई पराजित गरेको थियो । त्यसपछि सुपर-८ राउण्डमा अमेरिका, इंग्ल्याण्ड र वेस्ट इन्डिजलाई हराएको थियो । 

सेमिफाइनलमा दक्षिण अफ्रिकी टोली अफगानिस्तानलाई पराजित गर्दै पहिलो पटक आईसीसी विश्वकपको फाइनलमा पुगेको हो । यसअघि दक्षिण अफ्रिकी टोली कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको थिएन। अब टोली च्याम्पियन बनेमा अपराजित रहँदै च्याम्पियन बन्नेछ र पहिलो पटक आईसीसी विश्वकप ट्रफी जित्नेछ ।

भारतको विश्वकप यात्रा

रोहित शर्माको कप्तानीमा भारतले यो विश्वकपमा अहिलेसम्म सात खेल जितेको छ । एक खेल वर्षाले रद्द भएको थियो । भारतले समुह चरणमा तीन खेल जितेको थियो भने सुपर आठ चरणमा पनि तीन खेल जितेको थियो । समूह चरणमा भारतले आयरल्याण्ड, पाकिस्तान र अमेरिकालाई पराजित गरेको थियो । तर, भारत र क्यानडाको खेल भने वर्षाले रद्द भएको थियो । त्यसपछि सुपर आठमा भारतलेअफगानिस्तान, बंगलादेश र २०२१ को च्याम्पियन अस्ट्रेलियालाई हराएको थियो । सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले हराएर २०२२ विश्वकपको सेमिफाइनलमा भएको हारको बदला पनि लिएको थियो । भारतले अहिलेसम्म सात खेल जितेको छ र अपराजित छ ।  

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey