मेस्सीले पीएसजीको बसाई टुंग्याउने !

  • Image नेप्लेज
  • २० वैशाख २०८०, बुधवार
  • 1678 पटक हेरिएको
मेस्सीले पीएसजीको बसाई टुंग्याउने !

स्टार खेलाडी लियोनल मेस्सीले यसै सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पीएसजी छाड्ने भएका छन् ।  

विश्वकप विजेता अर्जेन्टिनाका मेस्सी र पीएसजीबीचको सम्झौता यही सिजनको अन्त्यसम्म रहेको छ । 

एक वर्षको लागि बसाइ लम्ब्याउने ‘सैद्धान्तिक सम्झौता’ भएपनि न त क्लबले न त मेस्सीले नै सम्झौतामा हस्ताक्षर गर्न चाहेका छन् ।

मेस्सीले सन् २०२१ मा २ वर्षका लागि सम्झौता गरेका थिए भने अरु १ वर्ष नविकरण गर्ने उल्लेख गरिएको थियो । तर, मेस्सीनै फ्रान्स बस्न अनिच्छुक देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

फ्रान्स बसाई टुंग्याउने विषयमा मेस्सीका बुबा जर्ज मेस्सीले केही साताअघि नै पेरिस सेन्ट जर्मेनका फुटबल सल्लाहकार लुइस क्याम्पोसलाई जानकारी गराएको बुझिएको छ।
 ३५ वर्षीय मेस्सीलाई क्लबको अनुमतिबिना साउदी अरब गएको भन्दै मंगलबार पीएसजीले दुई साताका लागि निलम्बन गरेको थियो । यसले गर्दा पनि मेस्सी र क्लबबीचको सम्बन्ध सुमधुर नरहेको प्रष्ट हुन्छ ।

मेस्सीलाई मेजर लिग सकरमा इन्टर मियामीबाट अफर आएको बुझिएको छ भने  अल-हिलालसँग एक वर्ष साउदी अरबमा खेल्नको लागि पनि आकर्षक प्रस्ताव आएको बीबीसीले जनाएको छ । साउदीबाट मेस्सीलाई ४०० मिलियन युरोको प्रस्ताव आएको छ ।  

मेस्सीले गत सिजन लिग वानको को उपाधि जित्ने पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट प्रदान गरेका थिए ।
 
७७८ खेलमा ६७२  गोलका साथ बार्सिलोनाका सबै समयका सर्वाधिक गोलकर्ता मेस्सीले क्लबमा आर्थिक समस्याका कारण २०२१ मा नोउ क्याम्प छोडेका थिए ।