इंग्ल्याण्डविरुद्धको टेस्ट क्रिकेट सिरिज वेस्टइन्डिजले जितेको छ । तेस्रो तथा अन्तिम टेष्टमा १० विकेटको फराकिलो जित निकाल्दै वेस्टइन्डिजले टेस्ट सिरिज १–० ले जितेको हो । अन्तिम दिन विकेट नगुमाएर २८ रन बनाउँदा सिरिज नै वेस्टइन्डिजको पक्षमा आयो ।
जोशुआ डा सिल्वा प्लेयर अफ द म्याच बन्दा क्रेग ब्रेथवेट प्लेयर अफ द सिरिज बने । इंग्ल्याण्डको टिमले दोस्रो पारिमा खराब प्रदर्शन गर्दै १२० रन मात्रै बनाउन सक्यो । इंग्ल्याण्डका लागि सर्वाधिक रन एलेक्स लिजले (३१) बनाए । जोनी वेयरस्टोले २२ रनको पारि खेल्दा क्रिस वोक्स्ले १९ रन बनाएका थिए । वेस्टइन्डिजका काइल मेयर्सले सर्वाधिक ५ विकेट लिएका थिए । २८ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले सहजरुपमा पूरा गरेको थियो ।
क्रेथ ब्रेथवेटले नटआउट २० रन बनाउँदा जोन क्याम्पबेलले ६ रनको नटआउट नै पारि खेले । इंग्ल्याण्डले पहिलो पारिमा २०४ रन बनाएको थियो । उसका लागि शाकिब महमुदले अन्तिम नम्बरमा आएर ४९ रनको सर्वाधिक पारि खेलेका थिए ।

यसका साथै ज्याक लिचले नटआउट ४१ रन बनाएका थिए । वेस्टइन्डिजका लागि जेडन सिल्सले ३ विकेट लिएका थिए । जवाफमा वेस्टइन्डिजले पहिलो पारिमा २९७ रन बनाएको थियो ।
जोशुआ डा सिल्वाले शतक बनाउँदै नटआउट १०० रन बनाए । यसैगरी क्रिस वोक्सले इंग्ल्याण्डका लागि ३ विकेट लिएका थिए । तर दोस्रो पारिमा इंग्ल्याण्ड १२० रनमा समेटिएपछि वेस्टइन्डिजलाई सिरिज नै जित्न सहज भयो ।