अध्यक्षको एक लाख र खेलाडीको खर्चले ‘पावर लिफ्टिङ’मा नेपालको सफलता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०३
  • |
  • 207 पटक हेरिएको

कृष्ण दवाडी/रासस
पावर लिफ्टिङका खेलाडी पोखराका हसन गुरुङले डेढ वर्षअघिदेखि नै भारतमा तय भएको ‘वल्ड पावर लिफ्टिङच्याम्पियनसीप’का लागि अभ्यास शुरु गरेका थिए । गुहावटीमा अघिल्लो वर्ष मङ्सिरमा निर्धारित प्रतियोगिता त्यहाँको आन्तरिक समस्याका कारण स्थगन भयो । पुनः चैत पहिलो साता तय भएको प्रतियोगिता कोरोनाका कारणले रोकिएपछि अर्को मिति अनिश्चित थियो । देशभित्र सबै खेलकूद गतिविधि ठप्प थियो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको सहभागिता थिएन ।

डिसेम्बर ४ देखि ७ तारिखसम्म भारत, महाराष्ट्रको अमरावतीमा प्रतियोगिता हुने जानकारी पाएपछि हसनसहित अन्य खेलाडी उत्साहित त भए तर सँगै चिन्ता पनि थपियो खेल्न जाने खर्च पो कसरी जुटाउने भनेर । खानेबस्ने सुविधा आयोजकको भए पनि आउनेरजाने खर्च स्थलमार्गबाट जाँदा नै तीन लाख खर्च हुन्थ्यो ।

डेढ वर्षदेखिको परिश्रम खेर जान नदिन खेलाडी आफैँले पैसा जोहो गरेर भए पनि प्रतियोगिता खेल्ने निष्कर्षमा पुगे । दुई वर्षअघि मात्र राष्ट्रिय खेलकूद परिषद्मा दर्ता भएको नेपाल पावर लिफ्टिङ एशोसिएशनका अध्यक्ष सुन्दर भुसालले व्यक्तिगत एक लाख उपलब्ध गराएपछि बाँकी रकम सात जनाले दामासाहीमा जुटाए र डिसेम्बर २ मा प्रतियोगिताका लागि प्रस्थान गरे ।

नेपालबाट स्थलमार्ग हुँदै २३ घण्टाको लामो यात्रापछि भारतको अमरावती पुगेका खेलाडी कोरोना कहरले खेलकूद क्षेत्र प्रभावित बनेका बेला देशलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएर खेलकर्मीको मुहारमा खुशी ल्याउन सफल भएका छन् ।

नेपाली खेलाडीले २१ औँ संस्करणको वल्ड पावर लिफ्टिङमा तीन स्वर्ण र एक रजत पदक जितेर कोरोनाले अप्ठेरो अवस्थामा रहेको खेल क्षेत्रमा नयाँ उत्साह जगाएका छन् ।

‘कोरोनाले कुनै पनि प्रतियोगिता नभएको अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेर नेपालको नाम राख्नुपर्दछ भन्नेमा सबै दृढ थियौँ’, च्याम्पियनसिपमा सिनियरतर्फ ८२ दशमलव ५ केजीमा नेपाललाई स्वर्ण पदक दिलाएका गुरुङले भने, ‘आर्थिकलगायत समस्या झेलेर भए पनि विदेशी भूमिमा खेलेर सफलता मिलेपछि राष्ट्रको झण्डा फहराउन पाउँदा खुशीको सीमा रहेन ।’

पावर लिफ्टिङ च्याम्पियनसिपका लागि नेपालबाट पाँच खेलाडी र दुई प्रशिक्षक सहभागी भएका थिए । हसनसहित जुनियरतर्फ आशिष आले मगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक चुमे । सिनियरतर्फ १०० केजीमा राजेश सुवाल रजत पदक जित्न सफल भएका थिए ।
देशभित्र यस खेलका खासै प्रतियोगिता हुँदैनन् । केही खेलाडीले व्यक्तिगत सम्पर्कका आधारमा विदेशमा गएर खेल्ने गरे पनि पहिलोपटक एशोसिएशनले संस्थागतरुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको हो ।

नेपालले औपचारिकरुपमा सहभागिता जनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त यो सफलता अहिलेसम्मकै पहिलो र ऐतिहासिक हो । एशोसिएशनमा पनि पावर लिफ्टिङमा खेलाडीले पदक जितेको अभिलेख छैन । प्रतियोगितामा सिनियरतर्फ रजत पदक विजेता खेलाडी सुवाल आर्थिक समस्याका कारणले प्रतियोगितामा सहभागिता अनिश्चित रहेका अवस्थामा खेलाडीले आफ्नै खर्च र मेहनतबाट भए पनि सहभागिता जनाएर देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन पाउँदा खुशी लागेको बताउँछन् ।

खेलका लागि आवश्यक पौष्टिक खानेकुरादेखि खेल सामग्री र प्रतियोगितामा जाने खर्चसमेत आफ्नै भए पनि प्रतियोगितामा सहभागी हुनु नै देशका लागि गर्वको विषय हुन्छ भनेर खेलेर सफलता मिल्दा थप आनन्द लागेको उनको अनुभूति छ । उनले भने, ‘हामी राष्ट्रिय खेलाडी हौँ, लामो समयदेखि प्रतियोगिताका लागि भनेर मेहनत र खर्च भएकाले कोरोनाका कारणले हामी मौका गुमाउन चाहन्नथ्यौँ । नेपालीको इज्जत जोगाएर फर्कनुपर्दछ भन्ने थियो । मेहनत गरेअनुसार सफलता मिल्यो, भाग्यले पनि साथ दियो ।’

खेलाडीहरु पावर लिफ्टिङका लागि भनेर खेल सामग्री प्राप्त नभएकाले जिमका सामानबाट अभ्यास गर्दै आएको बताउँछन् । विदेशमा पावर लिफ्टिङका लागि उचाल्ने खेल सामग्री पातलो प्लेटको हुन्छ तर नेपालमा छैन । नेपाली टोलीका प्रशिक्षकसमेत रहेका एशिएन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष जीवन गिरी नेपालले पाएको सफलता ऐतिहासिक रहेको बताउँछन् ।

सो प्रतियोगिताका लागि शुरुआतमा २५ देशले नाम टिपाए पनि अन्तिम समयमा कोरोनाका कारण उडान समस्यालगायत कारणले ११ देशले प्रतिस्पर्धा गरेका थिए । शारीरिक सुगठन(बडी विल्डिङ)तर्फभन्दा पावर लिफ्टिङमा नेपालको खेल सम्भावना बढी रहेको गिरीको भनाइ छ । देशभित्र पावर लिफ्टिङका प्रतियोगिता आयोजना गरिएका खण्डमा नयाँनयाँ खेलाडी उत्पादन हुने विश्वास उनको छ ।

प्रशिक्षक गिरीले भने, ‘पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता गरिएका खण्डमा धेरै राम्रा खेलाडी आउने निश्चित छ, सरकार तथा राखेपले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा यसलाई समावेश गर्नुपर्छ, खेलाडी उत्पादनमा लाग्नुपर्छ ।’

एशोसिएशनले अब पावर लिफ्टिङ खेललाई देशभित्र व्यवस्थित र योजनाबद्ध हिसाबले अघि बढाउने र प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । पहिलो पटक देशको प्रतिनिधित्व गरेर खेलाडीले प्राप्त गरेको उपलब्धिबाट यस खेलको विकासमा मद्दत पुग्ने विश्वास एशोसिएशनले लिएको छ । एक वर्षभित्र देशका सात प्रदेशमा सात प्रादेशिक प्रतियोगिता गरेर प्रत्येक प्रदेशबाट पाँच जना खेलाडी छनोट गरी छनोट भएकाका बीचमा राष्ट्रिय प्रतियोगिता गर्ने योजना बनाइएको एशोसिएशनका अध्यक्ष सुन्दर भुसालले बताए ।

उनले भने, ‘हामी एक वर्षभित्र राष्ट्रिय प्रतियोगिता आयोजना गरेर हाम्रा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने वातावरण निर्माण गर्छौं । राष्ट्रिय खेलकूदमा समेत समावेश गर्न सरकारलाई आग्रह गरेका छौँ ।’ खेलाडीको सफलताबाट उत्साहित एशोसिएशनले पोखरामा कार्यक्रम आयोजना गरेर खेलाडीलाई नगर परिक्रमा गरी सम्मानसमेत गरेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey