सुदूरपश्चिमको सपना ‘ड्रिम फाप्ला’ साकार गर्न डिपीएल माध्यम हाेः सुवास शाही

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२५
  • |
  • 279 पटक हेरिएको

‘के हो ठूलो जगतमा ? पसिना विवेक
उद्देश्य के लिनु ? उडि छुनु चन्द्र एक ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाले यो हरफ लेख्नु करिव ५० वर्षअघि राइट दाजुभाइले आकाशमा उडेको सपना देखेका थिए । जुन सपना उनीहरुले नै साकार पारे र अहिले हामी आकाशे मार्गबाट छोटो समयमा सहजै एकबाट अर्को स्थानमा पुग्न सक्ने भएका छौं ।

सपनाको पछि लागेर सफलत कमाउने राइट दाजुभाइ मात्र होइनन् । संसारभर यस्ता धेरै सफल मानिस छन् जसले आफ्नो सपनालाई पछ्याइरहे । वास्तवमै सपनाको पछि एकाग्रता देखाउन सक्नु हरेक मानिसको लागि चुनौति हो ।

सपना देख्ने, पछि लाग्ने र साकार पार्ने चूनौतिलाई सहर्ष स्वीकार गरेका एक व्यक्ति छन्–सुवास शाही ।

नेपाली क्रिकेटमा सुवास शाही अहिले परिचित बनिसकेका छन् । एसपीए कप, धनगढी क्रिकेट एकेडेमी, धनगढी प्रिमियर लिग र ड्रिम फाप्लासँग उनको परिचय जोडिएको छ ।

नेपाली क्रिकेटमा फ्रेन्चाइज लिगको जग बसाल्न र नयाँ प्रयोग गर्ने अभियानमा सुवासा निकै अघि छन् । देशमा केही छैन, केही गर्न दिइँदैन/पाइँदैन भन्ने आम मानिसको मानसिकतामाथि सुवासले गतिलो जवाफ दिइरहेका छन् ।

एसपीए कप क्रिकेटः पहिलो पाइलाबाटै चुनौति

नेपाली क्रिकेट काठमाडौं केन्द्रित भइरहेका बेला २०१० मा सुदूरपश्चिमको धनगढीमा एसपीए कप क्रिकेट प्रतियोगिता आयोजना भयो । अन्तर कलेज प्रतियोगिताको पुरस्कार राशी २५ हजार राखियो । तत्कालिन समयमा यस्तो प्रतियोगिता आयोजना गर्नु नै चुनौतिपूर्ण थियो ।

धनगढीमा टोलटोलबीच क्रिकेट प्रतियोगिता नियमित रुपमा आयोजना हुन्थे । क्रिकेटको राम्रो माहोल थियो । सुवास पनि एक क्रिकेटप्रेमी थिए । पढाईको सिलसिलामा उनी काठमाडौं आए । देशमा दश वर्ष जनयुद्ध चल्यो । जसका कारण धनगढीको क्रिकेट माहोल सेलाउन पुग्यो ।

आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर धनगढी फर्किएका सुवास आफ्ना बुवाले स्थापना गरेको एसपीए कलेजमा आबद्ध भए ।
कलेजमा आबद्ध भए पनि उनीको लक्ष्य केही फरक थियो ।

अहिले धनगढी रंगशाला भएको स्थानको एउटा कुनामा केही युवाहरु क्रिकेट खेल्दथे । तर, त्यो खेल मनोरञ्जन र समय ब्यतित गर्ने माध्यममात्र थियो ।

‘उनीहरुको हाउभाउले पनि देखाउँथ्यो कि त्यो कुनै उद्देश्यका लागि थिएन । कुनै प्रकारको प्रशिक्षण थिएन, संघ निश्क्रिय थियो’, सुवास स्मरण गर्छन् ।

‘एउटा क्रिकेट प्रेमी भएर हेर्दा त्यो दृष्य चित्त बुझ्दो लागेन । क्रिकेट विकासमा कोही त लाग्नु प¥यो भन्ने सोचेर म आफैं केही गर्छु भन्ने संकल्प लिएँ ।’

परिवारका सदस्यहरु समाजसेवामा लागेको अवस्थामा सुवासको पनि समाजसेवा प्रति आकर्षण हुनु अनौठो थिएन, ‘सानैदेखि आफ्नो ठाउँमा केही गरौं भन्ने भावना जागृत हुन्थ्यो ।’

सहपाठीहरु विदेश होमिए । उनी भने आफ्नै स्थानमा केही गरौं भन्ने मनसायका साथ काठमाडौंबाट धनगढी फर्किए । सेवा गर्ने माध्यम के त ? छनोट भयो– क्रिकेट, आफ्नो प्रिय खेल ।

२५ हजार पुरस्कार राशीबाट शुरु भएको एसपीए कप क्रिकेट अहिले नेपालकै प्रतिष्ठित फ्रेन्चाइज लिग धनगढी प्रिमियर लिगमा परिमार्जन भएको छ, जसको पुरस्कार राशी अघिल्लो वर्ष २५ लाख थियो । माघ २६ देखि सुरु हुने तेस्रो संस्करणमा यो रकम बढ्ने निश्चित छ ।

सन् २०१० मा आँट गरेर उनले एसपीए कप क्रिकेट आयोजना गर्ने सोचाई बनाएका थिए । बुवाको कलेज भएका कारण एसपी एकेडेमीबाट राम्रै सहयोग पाए । र, पुरस्कार राशी घोषणा गरियो– रु २५,०००/–

 

प्रतियोगिता सफल हुन्छ भन्नेमा कमैको विश्वास थियो । तर, उनले आफैंलाई विश्वास गरे । प्रतियोगिता आयोजनाका लागि आर्थिक सहयोग जुटाउन प्रायोजक खोज्न थाले ।

‘प्रायोजनलाई चन्दाको रुपमा लिइन्थ्यो त्यसबेला । त्यसबेला आफ्नो ब्राण्डलाई पनि माइलेज हुन्छ भन्ने कसैलाई ज्ञान थिएन’, सुवास थप्छन्, ‘प्रायोजन गरेर आफ्नो ब्यापारलाई सहयोग पुग्छ भन्ने नै थाहा थिएन ।’

धेरै ठाउँबाट हामी खाली हात फर्किनु पनि परेको अनुभव सुनाउँछन् उनी । उनको त्यो अभियानमा केही सहयोगी हातहरु भने सँधै रहे । प्रायोजनभन्दा पनि पर्सनल रिलेसनका कारण रकम जुट्यो । पहिलो संस्करण सफलतापूर्वक आयोजना भयो ।

‘चुनाको बाउण्ड्री, म्याटको पिच । पूर्वाधार केही थिएन । तर गर्छु भन्ने भावना थियो, ’ सुवासले त्यसबेला नै आफ्नो इच्छाशक्ति दृढ बनाएका थिए ।

एसपीए कप क्रिकेट आयोजना गर्दा स्पष्ट भिजन नभएपनि केही गर्छु भन्ने विश्वास थियो । उनीसँग टिम पनि राम्रो थियो । शुरुमा एउटा कलेजको साथ थियो । टिममा सबैले स्वस्फुर्त रुपमा आफूले सकेको योगदान दिएका थिए । केही साथीहरु, केही विद्यार्थीहरु र केही शुभचिन्तक थिए ।

टिमका सदस्यमा शुरु गर्दै जाउँ भन्ने भावना थियो । ‘एसपीए कप चार संस्करण ग¥यौं । प्रत्यक संस्करण सम्पन्न गर्दा अर्को संस्करण त्यो भन्दा फरक र राम्रो गर्नुपर्छ भन्ने संकल्प थियो ।’

प्रतियोगिता सफल हुँदै गएपछि प्रायोजकहरुले पनि विश्वास गर्न थाले । ‘काम गर्दै जाँदा सबैले विश्वास गर्दा रहेछन् । प्रायोजनको महत्व पनि ब्यापारीहरुले बुझ्दै गए ।’

दोस्रो संस्करणमा होटल डिभोटीले मुख्य प्रायोजन ग¥यो । जसले डिभोजीलाई देशैभरी चिनायो । बेल्स क्याफे, राइका टुर्स एण्ड ट्राभल्स पनि जोडिए ।

‘हामीले प्रतियोगितालाई एउटा कार्यक्रमका रुपमा मात्र लिएनौं । क्रिकेटको माध्यमबाट देशलाई विश्वमा कसरी चिनाउने भन्ने हाम्रो मिसन थियो ।’

ठूलो स्तरको प्रतियोगिता आयोजना गर्नका लागि प्रायोजक पनि ठूलै चाहियो । सुवास केन्द्रमा आए । तर देशको सुदूपश्चिमको एउटा सानो शहरलाई कसले पत्याउने ?

‘काम गर्दै जाँदा पत्याउन थाल्नु भयो ।’

‘त्यसपछि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भिजन अगाडी सा¥यौं ।’

डिपीएल आयोजक टिम एउटा सिमित प्रतियोगितामात्र सफल बनाउन लागि परेका छैनन् । ‘चन्द्र छुने’ लक्ष्य लिएर टिम काम गरिरहेको छ ।

धनगढीमा यस्तो माहोल बनाउन सकिन्छ भने देशका अन्य भागमा किन बनाउन सकिँदैन भन्ने भावना सिर्जना भइसकेको छ ।
डिपीएलकै प्रभावका कारण देशमा धेरै फ्रेन्चाइजी लिगहरु आयोजना समेत हुँदै आएका छन् । एउटा स्थानमा केही दिन चल्ने प्रतियोगिताले देशमा क्रिकेटको विकास हुँदैन भन्ने विश्वास सुवास को छ । ‘यस्ता फ्रेन्चाइजी प्रतियोगिताहरु आयोजनालाई हामीले आफ्नो सफलताका रुपमा लिएका छौं ।’

एसपीए कप आयोजना गर्दा सुवासको साथमा एउटा कलेजमात्र थियो । अहिले हजारौं ठाउँबाट सहयोग आइरहेको छ । अरुबाट सहयोग माग्दै गर्दा जाँदा आफूले पनि केही योगदान दिनुपर्छ भन्ने कुरा सुवास स्पष्ट छन् । प्रतियोगिता आयोजना गर्दा सुवासले आर्थिक लाभ लिनुपर्छ भन्ने कहिल्यै सोचेनन् । बरु एउटाभन्दा अर्को संस्करणलाई अझ भब्य कसरी बनाउने भन्ने सोचे ।

‘हामी यस्तो स्थानमा चाँडो पुग्नु पर्ने अवस्था छ । आर्थिक लाभ सोच्यौं भने त्यहाँ समयमा पुग्न सक्दैनौं ।’ तर, त्यसबाट धनगढी, कैलाली र सुदूरपश्चिमले पाएको अप्रत्यक्ष लाभ अर्थमा तुलना गर्न मिल्दैन ।

‘अहिले धनगढी क्रिकेटको ठूलो ब्राण्ड बनेको छ । सिटी अफ क्रिकेट भनेर चिनिन्छ । क्रिकेट प्रतियोगिता हुँदा पूरा धनगढीले लाभ लिन सफल भएको छ ।’

माध्यम डिपीएल, मिसन ड्रिम फाप्ला

अहिले डिपीएल आयोजक टिम यो प्रतियोगिता सफल बनाउन भन्दा पनि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई चाँडो भन्दा चाँडो निर्माण गर्नका लागि एकताबद्ध भएर अघि बढिरहेको छ ।

शुरुको एसपीए कप हालको धनगढी रंगशालामा आयोजना गरिएको थियो । छैटौं राष्ट्रिय खेलकुदका लागि त्यो रंगशालामा प्यारापिट बनेपछि क्रिकेट आयोजना गर्न सम्भव भएन । ‘प्रतियोगिता आयोजनाका लागि विकल्प खोज्दा खोज्दै मोहना नदीको किनारमा फाप्ला फेला पा¥यौं ।’

फाप्ला मैदान गौचरण थियो । त्यसलाई अब आवस्यक थियो, राष्ट्रिय चर्चाको । ‘नेपाल प्रिमियर लिग धनगढीमा आयोजना गर्ने योजना बनेको थियो । एसएसपी मैदान हुँदा हुँदै पनि फाप्लालाई चर्चामा ल्याउनका लागि फाप्लामै प्रतियोगिता संचालन ग¥यौं,’ त्यसपछि फाप्लाले राष्ट्रिय स्तरमा चर्चा पायो ।

त्यसभन्दा अघि एसपीए कप २०१५ क्रिकेटमा प्रत्यक टिकटबाट पाँच रुपैयाँ छुट्टाएर अन्तर्राष्ट्रिय रंगशाला बनाउनुपर्छ भनेर अभियान अघि सा¥यौं ।

 

त्यसले पनि फाप्लालाई लाइम लाइटमा ल्याउन सफल भयो । एसपीए कपको टिकटबाट एक लाखको सिड एमाउन्ट राखेर ड्रिम फाप्ला ‘हाम्रो सपनाको अन्तर्राष्ट्रिय फाप्ला मैदान’ निर्माण अभियान घोषणा भयो । त्यसले ब्यापक चर्चा पनि पायो । यो अभियानमा साथ दिनेहरुको संख्या बढ्न थाल्यो । त्यसले सरकारलाई पनि एउटाखाले दबाब सिर्जना ग¥यो ।

सहयोग उठाएर रंगशाला बनाउन भन्दा पनि त्यो अभियानको उद्धेश्य सरकारलाई दबाब दिनु थियो । ‘हामी आफैं बनाउँछौं भन्न खोज्नुको कारण सरकारलाई फाप्लातिर ध्यानाकर्षण गराउनु थियो । हामी त्यही वर्ष नै सफल भयौं । फाप्ला परियोजना राष्ट्रिय बजेटमा पनि पर्न सफल भयो,’ फाप्ला मैदान निर्माणमा एउटा इट्टा थपियो ।

तर, सरकारले गर्ने काम त सबैले देखेका नै छन् । मुलपानी मैदानको निर्माण कार्य डेढ दशक भइसक्दा पनि खेल्न योग्य भएको छैन । सरकारले बनाउने भनेको यस्ता धेरै परियोजना अलपत्र स्थितीमा छन् ।

सरकारले मात्र बनाएर नहुँदो रहेछ भन्ने सोचेर फाप्ला मैदानलाई पीपीपी मोडल अर्थात पब्लिक–प्राइभेट पार्टनरसिपमा निर्माण गर्ने योजना बन्यो । ‘एउटा कम्पनी खडा गरेर सरकारलाई पनि शेयर रहने गरेर पब्लिक र प्राइभेट सेक्टरलाई पनि संलग्न गराएर निर्माण गर्ने मोडल अपनाउने प्रस्ताव अघि सारेका छौं । करिव दुई वर्षदेखि त्यसैमा लागिरहेका छौं ।’

डिपीएलको दोस्रो संस्करण सकिए लगत्तै प्रदेश सरकारले पनि पाँच करोड रुपैयाँ छुट्यायो । फाप्ला मैदानका निर्माणमा त्यो अर्को सफलता थियो । राष्ट्रिय बजेटमा पनि थोरै भएपनि विनियोजन भयो । धनगढी उपमहानगरले पनि यो वर्ष एक करोड छुट्यायो । अरवौंको परियोजनाका लागि वर्षमा पाँच–छ करोड विनियोजन गरेर कहिले निर्माण सम्पन्न हुने ? तीन वर्षअघि नै यसको अनुमानित लागत करिव दुई अर्व ५० करोड थियो । अहिले त्यो बढेर झण्डै तीन अर्वको हाराहारीमा पुगिसकेको छ । त्यसैले पीपीपी मोडलमा निर्माण गर्नका लागि प्रदेश सरकार, धनगढी उपमहानगरपालिका लगायत सबै तहहरु सकारात्मक छन् । ‘प्रदेश सरकार नीति बनाउने प्रक्रियामा छ । नीति बन्ने वित्तिकै यसमा लगानी गर्नका लागि सबै तयार छन्,’ सुवास यो नीति छिटो भन्दा छिटो बन्नु पर्नेमा जोड दिन्छन् ।

यो परियोजनामा नीति क्षेत्रहरु पनि उत्तिकै उत्साहित छन् । यसमा सुदूरपश्चिमबासीहरुले पनि अपनत्व महसुस गरिरहेका छन् र गर्न जरुरी पनि छ । सुदूरपश्चिममात्र होइन देशका अन्य स्थानमा बस्ने जनता पनि शेहर हाल्न इच्छुक छन् । केवल नीति पास हुन बाँकी छ । ‘सुदूरपश्चिममा मात्र २५ लाख जनसंख्या छ । एक जनाबाट हजार रुपैयाँको शेयर हलेपनि हामीसँग अढाई करोड हुन्छ ।’

तीन वर्षअघि २०२० मा एउटा अन्तर्राष्ट्रिय खेल खेलाउने लक्ष्यका साथ परियोजना घोषणा भएको थियो । समय नजिकिँदै गर्दा सुवास भन्छन्, ‘नीति पास हुने हो भने त्यो पनि असम्भव छैन । फाप्ला परियोजना श्रोत साधनले भन्दा पनि नीतिले अड्किएको हो ।’

ठूलो लक्ष्य बोकेर हिँडेको ब्यक्तिका लागि फाप्ला मैदानका लागि तीन अर्व जुटाउनु ठूलो कुरा पनि होइन । विश्वासका साथ उनी भन्छ्न,‘हामी एउटै प्रतियोगिताका लागि पाँच करोड जुटाउन सक्छौं भने फाप्ला जस्तो दीर्घकालिन परियोजनाका लागि जति पनि रकम जुटाउन सक्छौं ।’

‘यसपटक डीपीएल पनि त्यहीँ आयोजना गर्दैछौं । फाप्ला मैदानलाई समयमा नै पूरा गर्नका लागि त्यसले ठूलो सहयोग गर्नेछ ।’
निश्वार्थ भावनाले कुनै काम शुरु ग¥यो भने सबैको सहयोग पाइन्छ भन्ने उदाहरण सुवास स्वयं बनेका छन् । फाप्लाको अभियान शुरु गरेका सुवासको साथमा अहिले हजारौं सहयोगी हातहरु छन् ।

डिपीएल एउटा इभेन्ट हो जसले नेपालमा फ्रेन्चाइज क्रिकेटको माहोल सिर्जना गरेको छ । यही माध्यमबाट सुदूरपश्चिमबासीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सपनादेख्न थालेका छन् । सुवास शाहीका अनुसार फाप्ला पनि एउटा महाअभियानको सानो माध्यम हो ।

‘देशभरी नै क्रिकेट माहोल सिर्जना गर्नका लागि रंगशाला महत्वपूर्ण छ । र यो माहोलले एक दिन देशमा विश्वकपको ट्रफी भित्रिनेछ ।’

‘सबैजना साझा लक्ष्य लिएर हिँडेमा त्यो लक्ष्य पनि टाढा छैन ।’

भनिन्छ, घाम पनि अस्ताउनमात्र सुदूरपश्चिम पुग्छ । यो विम्बले सुदूरपश्चिमलाई राज्यले हेर्ने दृष्टिकोण छर्लङ्ग पार्दछ । तर सुवास शाही र उनको टिम चुनौति सामना गर्न तयार छ । यसका सबैभन्दा उत्साहजनक र सकारात्मक पाटो भनेको अपनत्व हो । हरेक सुदूरपश्चिमबासीले फाप्ला मैदान होस वा धनगढी प्रिमियर लिग, त्यसलाई आफ्नो महसुस गरेका छन् ।

फ्रेन्चाइज लिगहरुको प्रतिष्पर्धा

एसपीए कप हुँदै धनगढी प्रिमियर लिग ब्राण्ड बनिसकेको छ । खेलाडीलाई अक्सनमार्फत आफ्नो टिममा अनुबन्ध गर्ने शुरुवात सुवासले गराए । यही प्रतियोगितालाई हेरेर अहिले देशमा विभिन्न फ्रेन्चाइज लिगहरु आयोजना हुँदै आएका छन् । एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग, रौतहट प्रिमियर लिग, लगायत अन्य लिगहरु पनि वर्षेनी आयोजना हुँदै आएका छन् ।

‘ठूला सहरका फ्रेन्चाएज टिमहरुको अवधारणा शुरु गर्दा नै मैले भनेको थिए, देशमा तीन चारवटा यस्ता प्रतियोगिता हुन्छ, त्यसपछि यो प्रतियोगिता आयोजनाले सार्थकता पाउँछ । डिपीएलले नेपाली क्रिकेटमा एकप्रकारको प्रभाव वा परम्परा बसाउनेछ ।’

‘धनगढीमा मात्र १५ दिन एउटा प्रतियोगिता चलेर देशमा क्रिकेटको विकास हुँदैन । खेलाडीलाई पनि ब्यावसायिक बनाउन सकिँदैन । हाम्रो मुख्य उद्धेश्य क्रिकेटको विकास गर्नु नै हो ।’

कतिपय कुराहरु अरुले आयोजना गरेको फ्रेन्चाइज लिगहरुबाट पनि सिकिरहेका छन् । त्यसले डिपीएल आयोजकलाई अघि बढ्न मद्धत मिलिरहेको छ । ब्यापारिहरुलाई पनि यसले उत्साहित बनाउँदै लगेको छ । फ्रेन्चाइज लिग आयोजना हुनु धनगढी प्रिमियर लिगकै सफलता भएको मान्छन् सुवास शाही ।

डिपीएल ३ः नयाँ मैदान, नयाँ पिच, सर्वाधिक पुरस्कार राशी

यसपटक डिपीएल फाप्ला मैदानमा हुँदैछ । फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्नका लागि यो प्रतियोगिता कोषेढुंगा सावित हुन सक्छ ।

पिच निर्माणका लागि मुम्बईबाट पिच विशेषज्ञ आएर काम गरिरहेका छन् । यसपटकको डिपीएल पाँचवटा पिचमा खेलाइनेछ । अघिल्लो संस्करणभन्दा चर्चित विदेशी खेलाडीले फाप्ला मैदानमा आफ्नो प्रदर्शन देखाउनेछन् ।

दर्शकहरुका लागि पनि विभिन्न किसिमका क्रिकेटिङ क्रियाकलापहरु संचालन गरिनेछ । राष्ट्रिय कलाकारको उपस्थिती पनि बाक्लो हुनेछ । पाँच हजार दर्शक क्षमताको अस्थाई प्यारापिट बनाइनेछ । पुरस्कार राशीमा यो पटक बृद्धि हुनेछ ।

‘पुरस्कार राशी प्रतिष्पर्धाका लागि होइन । एसपीए कप आयोजना गर्दादेखि नै पुरस्कार राशी बढाउँदै आएका थियौं । अघिल्लो वर्ष २५ लाख थियो, ’ सुवास शाहीको भनाई अनुसार अब यो प्रतियोगिता नेपाली क्रिकेट इतिहासकै सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता हुनेछ ।

 

राष्ट्रिय टिममा धनगढीको याेगदान

एसपीए कप आयोजना गर्दा खेलाडीको कमी थियो । प्रतियोगिता खेलाउनका लागि खेलाडी उत्पादन पनि सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्यका साथ शुरु गरिएको धनगढी क्रिकेट एकेडेमीले सयौं खेलाडी उत्पादन गरिसकेको छ ।

धनगढी क्रिकेट एकेडेमी र धनगढी प्रिमियर लिगबाट उदाएका खेलाडीहरु राष्ट्रिय स्तरमा पुगिसकेका पनि छन् । धनगढी क्रिकेट एकेडेमीमा अझ राम्रा खेलाडी पनि छन् जसले नेपाली टिममा बाटो बनाउँदैछन् । यो वर्ष पनि उमेर समूहको राष्ट्रिय टिममा केही खेलाडी धनगढी प्रिमियर लिग र धनगढी क्रिकेट एकेडेमीले दिइसकेको छ ।

राजु रिजाल, सुनिल धमला, दिपेन्द्र सिंह ऐरी, लगायतका खेलाडीलाई प्ल्याटफर्म डिपीएलले अवसर दिएको हो । अहिले पनि एकेडेमीमा ९० जना खेलाडी प्रशिक्षणरत छन् ।

उनीहरुलाई दिपेन्द्र चौधरीले प्रशिक्षण गराइरहेका छन् । समय–समयमा क्रिकेटमा भविष्य खोजिरहेका युवा खेलाडीलाई राष्ट्रिय टिमका खेलाडीले पनि प्रशिक्षण गराउँछन् ।

उनीहरुलाई एक्सपोजर दिने, विदेशमा खेलाउन लैजाने, विदेशीलाई यहाँ खेल्न बोलाउने काम पनि धनगढी क्रिकेट एकेडेमीले गरिरहेको छ ।

 

 

डिपीएलको सबैभन्दा सुन्दर पक्ष भनेको लोकल खेलाडीको सहभागिता हो । सबै टिममा सुदूरपश्चिमका खेलाडीको अनिवार्य उपस्थिती छ । यसले गर्दा नयाँ खेलाडीलाई पनि क्रिकेटमा लाग्नका लागि प्रेरणा मिलिरहेको छ । सुवास भन्छन्, ‘उनीहरुले राम्रो एक्सपोजर पाएको खण्डमा भोलीको दिनमा राम्रो स्थानमा पुग्न सक्छन् । जुनियर स्तरमा पनि प्रतियोगिता बढ्ने हो भने नेपाली क्रिकेटको भविष्य निकै उज्ज्वल छ ।’

नेपाल क्रिकेट संघ क्यानको निलम्बनले पूरा नेपाली क्रिकेट प्रभावित छ । डिपीएल नहुने कुरै भएन । कुनै पनि क्रिकेट गतिविधि नियमन गर्नका लागि अविभावक हुने थियो भने सबै कुरामा सहज हुन्थ्यो । क्रिकेट संस्थागत हुनु पर्छ र सिस्टममा चल्नुपर्छ भन्ने मान्यता सुवास शाहीको छ ।

सुवास शाहीसँगकाे अन्तरवार्तामा आधारित

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey