दर्शिल च्याम्पियन
-
नेप्लेज
- |
- २०८२-०७-२१
- |
- 135 पटक हेरिएको
दर्शिल श्रेष्ठले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्सको उपाधि शुक्रबार जितेका छन् ।
नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको फाइनलमा दर्शिलले असभसम्राट हाडालाई ३-६, ६-० र ६-३ को सेटमा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यु-९ सिंगल्सको ब्वाइजमा कायान चालिसे र गल्र्समा निम्ति कुँवरले स्वर्ण जिते । कायानले सर्वज्ञजंग खत्रीलाई ४-१ र ४-२ तथा निम्तिले अमिरा गुप्तालाई ४-१ र ५-४ ले फाइनलमा हराए ।
दोहोरो स्वर्ण जित्ने क्रममा यु-१० ब्वाइज सिंगल्समा पनि कायान पहिलो भए । उनले फाइनलमा सोनाम घलेलाई ६-२ र ६-४ ले पाखा लगाए । यु-१२ गल्र्स सिंगल्सको फाइनलमा सरा पन्तले नाइरा घलेलाई ६-१ र ६-२ ले पन्छ्याउदै शीर्ष स्थान हात पारिन् ।
यु-१६ गल्र्स सिंगल्समा स्वस्तिका विष्टले बाजी मारिन् । स्वस्तिाकाले फाइनलमा शिभाली गुरुङलाई ६-४ र ७-६ ले पराजित गरिन् । दुवै महिला सिंगल्सको फाइनलमा पनि शनिबार भिड्दै छन् ।
पुरुष सिंगल्स उपाधिका लागि प्रदीप खड्का र प्रणव मानन्धरले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा प्रदीपले राजवीर प्रधानलाई ६-३ र ६-३ तथा प्रणवले निसान श्रेष्ठलाई ७-५ र ६-२ ले पराजित गरे ।
यु-१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसेले आरित मल्ललाई ७-६ र ६-३ तथा विश्वविशेष डल्लाकोटीले सभ्यजंग कार्कीलाई ६-१, ४-६ र ६-३ ले हराउदै फाइनलमा पुगे ।
यु-१४ ब्वाइज सिंगल्समा साङगे रोकायाले आरित मल्ललाई ६-२ र ६-३ तथा वेदान्त चालिसेले युभेनमान श्रेष्ठलाई ६-० र ६-४ ले पराजित गरी फाइनलमा पुगे । सोही स्पर्धाको गल्र्समा इरा खत्रीले स्वराह थापालाई ५-७, ६-४ र ६-४ तथा सरा पन्तले आयुशा जिसीलाई ७-६ र ६-३ ले हराउदै फाइनल भेट पक्का गरे ।