सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०६
  • |
  • 387 पटक हेरिएको

काठमाडौँ। इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। 

इतिहाद स्टेडियममा बुधबार सम्पन्न खेलमा घरेल टोली सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै स्पेनिस क्लब रियल अन्तिम चारमा पुगेको हो।

पराजयसँगै म्यान्चेष्टर सिटीको एउटै सिजन तीनवटा उपाधि जित्ने लक्ष्य अपूरो भएको छ । पहिलो लेगमा ३–३ को बराबरी खेलेका युरोपेली फुटबलका दुई महारथी दोस्रो खेलमा १–१ गोलको बराबरीमा रोकिएपछि सेमिफाइनल पुग्ने टोलीको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टीमा बर्नार्डो सिल्भा र माटेओ कोभासिचले गोल गर्न नसक्दा सिटीको यात्रा रोकिएको हो ।

यसअघि १२औं मिनेटमै रोद्रिगोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । भिनिसियस जुनियरले डिबक्सभित्रबाट दिएको पासलाई रोद्रिगोले दोस्रो प्रयासमा गोल गरेका थिए । ७६औं मिनेटमा केभिन डि ब्रुयनाले बराबरी गरेका थिए ।

८१औं मिनेटमा केभिन डि ब्रुयनाले पेनाल्टी एरियाबाट गरेको प्रहार आकाशिँदा सिटीले अग्रता लिने राम्रो मौका गुमाएका थिए । त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा गएको हो ।

च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियल मड्रिडले १४ पटक उपाधि जितिसकेको छ भने म्यान्चेष्टर सिटीले गत सिजन पहिलो उपाधि जितेको हो ।

अब रियल मड्रिडले सेमिफाइनलमा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिकको सामना गर्नेछ । जोसुवा किम्मिचको दोस्रो हाफको गोल निर्णायक बन्दा बायर्नले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

पहिलो लेगमा २–२ गोलको बराबरी भएको दुई टोलीबीच म्युनिकमा भएको दोस्रो लेगमा किम्मिच नायक बने ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey