गणेशमान स्मृति चेस - मिलन र रुपेश फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१८
  • |
  • 368 पटक हेरिएको

नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको उपलक्ष्यमा आयोजना गरिएको नवौं वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताको सेमिफाइनल खेलमा काभ्रेका मिलन लामा र ललितपुर वडा नं. ११ का रुपेश जैसवाल  फाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्। सर्वाधिक पुरस्कार राशीको चर्को दबाब झेल्दै दुबैले उत्कृष्ट खेल मार्फत उपाधि नजिक पुगेका हुन्। 

मिलनले सेमिफाइनलको पहिलो ९० मिनेट क्लासिकल खेल प्रतिद्वन्द्वी क्षितिज भण्डारी संग सेतो गोटीवाट शुरु गरेका थिए। खेल प्रतिस्पर्धात्मक बन्यो । सो खेल सानो गल्तीका कारण हार्न पुगे। दोश्रो खेल कालो गोटीवाट शुरु गरेका उनलाई जित्नै पर्ने दबाब थियो। चलाखिपूर्ण चाल चाल्दै जित दर्ता गरे र अंक बराबर गरे। त्यसपछि ३ मिनेट २ सेकेन्ड इन्क्रिजमेन्ट ब्लिज खेलमा पहिला हार आत्मसाथ गरे भने दोश्रो खेल आफ्नो पक्षमा पार्दै पुन: बराबर स्कोर खडा गरे।

अन्तिम खेल अझ कौतुहलपूर्ण बन्यो। अर्मागेडन नियम अनुसार क्षितिजलाई सेतोगोटी ५ मिनेट अनि मिलन लाई कालो गोटी ४ मिनेट (नो इन्क्रिमेन्ट) समय दिएको थियो। सेतोले जित्नै पर्ने र कालोले कमसेकम बराबर गर्दा फाइनल प्रवेश हुने थियो। उक्त निर्णायक खेलमा क्षितिजको हरेक चाललाई सटिक प्रतिचाल चाल्दै मिलनले बराबरीमा रोकि फाइनलमा प्रवेश गर्न सफल बने। 

पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल जित्ने दाउमा रहेका रुपेशले युवा पुरुषोत्तम सिलवाल संग ब्लिज खेल दुबैमा बराबरी खेलेका थिए । नेपाल च्याम्पियन रुपेश जैसवाल अर्मागेडन सेतो गोटीवाट जित्नै पर्ने खेलमा बराबरी गरे पुग्ने पुरुषोत्तमलाई पराजित गर्न सफल भए। यससंगै फाइनलमा प्रवेश गरेका रुपेशले अन्तिम भिडन्त मिलन लामा संग खेल्ने पक्का गरेका हुन्।

उता सुपर लिग तर्फ काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष एवं महानगरपालिका सामाजिक बिकास समितिका संयोजक रामकुमार केसि र नेकोस समाजवादीका उपमहासचिव अनिल रिजालले संयुक्त आरम्भ गरेको आठौं चरणको खेल अन्तर्गत आयोजक क्लबका सजिन महर्जन र भक्तपुरका निकेन कुसाथा ६.५ अंक सहित संयुक्त पहिलो स्थानमा उभिएका छन्। सजिनले आशिष् फूँयाल र निकेनले सुदिप तामाङ्ग माथि जित निकालेका छन्। 

प्रतियोगितामा काठमाडौंका नवीन तण्डुकार, ललितपुरका कमल श्रेष्ठ र अनरेटेड शैलेन्द्र न्योपानेको समान ६/६ अंक रहेको छ। हेटौंडाका कृष्णथापा देखि झापाका राजन सुवेदी सम्म १४ जना ५.५ अंक प्राप्त गरि विविध विधागत पुरस्कारका लागि पछ्याइ रहेका छन्। 

राष्ट्रिय रेटिङ्ग क्लासिकल प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार भोलि अन्तिम दिन ४ बजे नेपाली काँग्रेस पार्टीका प्रवक्ता मा. प्रकाशशरण महतले ६ लाख ३७ हजार ९ सय नगद ४० जना शिर्ष खेलाडीलाई पुरस्कार वितरण गर्ने तय भएको जानकारी गराएका छन्। नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चालन भइरहेको प्रतियोगिता फाइनल खेल बिहान ८ बजे हुनेछ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey