इण्डो-नेपाल टी २० क्रिकेटको सेमिफाइनल समीकरण पूरा  

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 451 पटक हेरिएको

चितवनको भरतपुरमा जारी इण्डो-नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा आज भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । प्रतियोगितामा सबै खेलमा जित निकाल्दै ८ अङ्कका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता बन्दै सेमिफाइनल स्थान बनायो भने सुदूरपश्चिम प्रदेशले आज तालतला इन्स्टिटाइट कोलकातालाई पराजित गर्दै समूह उपविजेताको रूपमा सेमीफाइनल प्रवेश गर्‍यो । यस्तै कोलकता सुदूरपश्चिमसँग समान ८ अङ्क भए पनि नेटरनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहेर सेमिफाइनल प्रवेश गर्‍यो । मधेशले भने बागमती प्रदेशलाई पराजित गर्दै ४ अङ्कका साथ चौथो स्थानमा रहेर सेमिफाइनल स्थान कब्जा गर्‍यो । प्रतियोगितामा एक मात्र जित निकालेको घरेलु टोली भरतपुर मेयर्स ११ र बागमती प्रदेश सबै खेल हार्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो । 

प्रतियोगिता अन्तरगत लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम प्रदेशले कोलकतालाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको कोलकता  १९.३ ओभरमा १३९ रनमा अलआउट भयो । कोलकताका लागि विजय यादवले सर्वाधिक ३७ बलमा ५० रन बनाए । कुनाल नगरले ३१ बलमा ४६ रन बनाए । 

सुदूरपश्चिमका लागि भोजराज भट्टले ४ ओभरमा ३२ रन खर्चिँदै ४ विकेट लिए भने दीपक बोहराले ४ ओभरमा १२ रन खर्चिँदै ४ विकेट नै लिए । 

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम खडक बोहरा र दीपक बोहराको अर्धशतकको मद्दतमा ७ विकेटको क्षतिमा २२२ रनको ठुलो योगफल तयार पारेको थियो । खडकले ३२ बलमा ६४ रन बनाए भने दीपकले २९ बलमा ५६ रनको पारी खेले । अभिषेक पालले ४० रन बनाए । 

कोलकताका लागि मिलन यादव र दिव्यांश यादवले समान २ विकेट लिए । 

यस्तै आजै भएको पहिलो खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो । वर्षाले मैदान खराब भएका कारण ८ ओभरमा छोट्याईको खेलमा बागमतीले मधेशलाई ७५ रनको लक्ष्य दिएको थियो । मधेशले ७.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । मधेशका लागि साहिल पटेलले सर्वाधिक ४३ रन बनाए । 

बागमतीका लागि ईशान पाण्डेले २ विकेट लिए । पहिले ब्याटिङ गरेको बागमतीले ८ ओभरमा ५ विकेटको क्षतिमा ७४ रन बनाएको थियो । बागमतीका लागि ईशान पाण्डेले २६ रन बनाएका थिए । मधेशका लागि प्रजिभ यादवले ३ विकेट लिए । 

प्रतियोगिताको सेमिफाइनल खेलहरू भोलि हुँदै छन् । पहिलो सेमिफाइनलमा पीएसआर ग्रुप लखनउ र मधेश प्रदेशबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा तालतला इन्स्टिटाइट कोलकाता र सुदूरपश्चिम प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । उपाधि भिडन्त चैत १७ गते हुनेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey