झ्यालुन्टारमा प्रथम उपत्यकाव्यापी अन्तर पालिका मेयर कप सुरु, उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका विजयी 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१५
  • |
  • 347 पटक हेरिएको

ललितपुर । गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।  
नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा

ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टिमलाई हराएको छ । पेनाल्टि सुट आउटमा गोदावरीलाई ४–२ गोल अन्तरले हराउँदै महालक्ष्मीले  क्बार्टरफाइनलमा स्थान पक्का गरेको छ ।  

महालक्ष्मीका लागि सिद्धान्त अधिकारी , निसान राउत, सरोज राई र निसान बस्नेतले १–१ गोल गरे । पराजित गोदावरीका लागि सुबास तामाङ र सायर तामाङले एक–एक गोल गरे । गोदावरीका लागि सुरुवाती २ पेनाल्टि गोलमा परिणत हुन सकेन । निराजन मर्हजन र वाङ्गेल लामाले हानेको बलले जाली चुम्न सकेन । 

खेलमा गोदावरीको २ पेनाल्टि रोकेका महालक्ष्मीका गोलकिपर आर्यन मर्हजन म्यान अफ दि म्याच भए । उनले यसबापत नगद ५ हजार पनि पाएका छन् । यसअघि निर्धारित ९० मिनेटसम्मको खेल बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो । अब सेमिफाइनल प्रवेशका लागि आगामी बैशाख २१ गते महालक्ष्मीले दक्षिणकाली नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । दक्षिणकाली सिधै बाई पाएर क्बार्टरफाइनलमा पुगेको हो । 

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन अघि नवनिर्मित झ्यालुन्टार खेल मैदानको शुभारम्भ पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभएको थियो । गोदावरी नगरपालिकाको बि टिमले बैशाख १९ गते ललितपुर महानगरपालिकासँग खेल्नेछ । आईतबार प्रतियोगितामा २ खेल हुँदैछन् । साढे १२ बजे हुने पहिलो खेलमा कोन्ज्योसोम गाउँपालिका र नागार्जुन नगरपालिका भिड्नेछन् भने अर्को खेलमा चन्द्रागिरी नगरपालिका र बाग्मती गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँ पुरस्कार प्रदान गरिने छ । 

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा काठमाडौं जिल्लाको ८ स्थानीय तहको ८ टिम तथा ललितपुर जिल्लाको ५ स्थानीय तहको ६ टिम रहेका छन् । यसैगरी भक्तपुर जिल्लाको एक स्थानीय तहबाट १ टिम गरी १५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौंका काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिकाले भाग लिएका छन् । 

१० नगरपालिका र १ महानगर रहेको काठमाडौंबाट गोर्कणेश्वर, कागेश्वरी–मनोहरा र शंकरापुर नगरपालिकाले सहभागीता जनाएका छैनन् । 
ललितपुर जिल्लामा रहेका ६ स्थानीय तहमा महाङ्काल गाउँपालिकाले प्रतियोगितामा सहभागीता जनाएको छैन भने आयोजक गोदावरीसहित ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, बाग्मती गाउँपालिका र कोन्ज्योसोम सहभागी छन् । आयोजक गोदावरी नगरपालिकाको  ए र बि गरी २ वटा टिम रहेको छ । भक्तपुरमा रहेका ४ नगरपालिकामध्ये मध्यपुर ठिमी नगरपालिकाले मात्र सहभागिता जनाएको छ । भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्य विनायक नगरपालिका यो प्रतियोगितामा सहभागी छैनन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey