चौथो बागमती प्रदेशस्तरीय उपमेयर कप खुला तेक्वान्दो मंसिर २६ देखि

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 76 पटक हेरिएको
चौथो बागमती प्रदेशस्तरीय उपमेयर कप खुला तेक्वान्दो मंसिर २६ देखि

काठमाडौं । चौथो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिता मंसिर २६ र २७ गते काठमाडौंमा आयोजना हुने भएको छ।

न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहयोगमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगिताबारे आयोजकले शुक्रबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा न्यु सरस्वती तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक दिनेशकुमार वाडाले प्रतियोगिताबारे जानकारी गराएका थिए।

प्रतियोगितामा तेक्वान्दोका क्यारोगी र पुम्से विधामा प्रतिस्पर्धा हुनेछ। क्यारोगीतर्फ सिनियर अफिसियल, जुनियर अफिसियल, विद्यालयस्तरीय खेलाडी तथा टाइनी टाइगर मन्टेश्वरीका बालबालिकालाई समेटेर विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।

आयोजकका अनुसार क्यारोगीतर्फ पुरुष र महिला गरी कुल ४७ तौल समूहमा खेल सञ्चालन हुनेछ। यस्तै, पुम्सेतर्फ १२ वर्षमुनि, १४ वर्षमुनि र १७ वर्षमुनिका महिला तथा पुरुष खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। टाइनी टाइगर समूहलाई समेत समेटेर पुम्सेतर्फ कुल १६ विधामा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट करिब ६५० खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता सञ्चालनका लागि ४१ जना रेफ्री, जुरी तथा प्राविधिकसहित आयोजक समिति, स्वयंसेवक र प्रशिक्षकको सहभागिता रहनेछ।

प्रतियोगिताको उद्घाटन मंसिर २६ गते काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा हुनेछ। प्रतियोगिताको समापन मंसिर २७ गते आइतबार अपराह्न ४ बजे गरिने आयोजकले जनाएको छ।

यसै अवसरमा बाढीबाट प्रभावित तीन जिल्लाका तीन तेक्वान्दो डोजाङलाई खेल सामग्री हस्तान्तरण गरिनेछ। साथै, आइल्याण्ड फर किड्स प्रि-स्कुल र आइल्याण्ड स्पोर्ट्स तेक्वान्दो डोजाङको सहकार्यमा राहत सामग्रीसमेत वितरण गरिने कार्यक्रम रहेको छ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment