प्रथम धरान महिला गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ एफसी विजयी बनेको छ।
धरानस्थित धरान रंगशालामा आज सम्पन्न खेलमा एपिएफले भारतको झारखण्डस्थित एक्वा एफसीलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो। एपिएफका लागि पहिलो गोल पुर्णिमा राईले गरेकी थिइन्। पुर्णिमाको गोलमार्फत अग्रता लिएको एपिएफले दोस्रो गोल भने उनकै क्रसमा एक्वाकी खेलाडीबाट आत्मघाती गोल भएपछि प्राप्त गरेको थियो।त्यसपछि रश्मि कुमारी घिसिङले गोल गर्दै पहिलो हाफमा टोलीलाई ३–० को अग्रता दिलाइन्।
दोस्रो हाफमा पनि आक्रामक खेल प्रदर्शन गरेको एपिएफले थप चार गोल गर्यो। उत्कृष्ट प्रदर्शन गरेकी पुर्णिमा राईले दोस्रो हाफमा थप तीन गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन्। उनले खेलमा व्यक्तिगत चार गोल गर्न सफल भइन्। त्यस्तै, रश्मि कुमारी घिसिङले पनि दोस्रो हाफमा थप एक गोल गरिन्। यससँगै निर्धारित ९० मिनेटको खेलमा एपिएफले एक्वालाई ७–० गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा चार गोल गरेकी एपिएफकी पुर्णिमा राई प्लेयर अफ द म्याच घोषित भइन्।
प्रतियोगिताअन्तर्गत भोलि हुने खेलमा घरेलु टोली स्वर्णिम फुटबल क्लबले उदयपुरको गाईघाट फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने फाइनल खेल मंसिर ५ गते आयोजना हुनेछ।