भ्यालेन्सियामाथि रियल म्याड्रिडको शानदार जित

  • Image नेप्लेज
  • २२ कार्तिक २०८३, आइतवार
  • 54 पटक हेरिएको
भ्यालेन्सियामाथि रियल म्याड्रिडको शानदार जित

। काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई ३–० गोलले पराजित गरेको छ।

भ्यालेन्सियाको घरेलु मैदान मेस्टायामा भएको खेलमा फेडेरिको भाल्भेर्दे, आर्दा गुलर र किलियन एम्बाप्पेले गोल गरेका थिए ।

जितसँगै रियल म्याड्रिडले सबै प्रतियोगितामा लगातार आठौँ जित निकालेको छ । टोलीले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गर्दै उपाधि होडलाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

दुवै टोलीको समान ३० अङ्क भए पनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ । खेलको २८औँ मिनेटमा भाल्भेर्देले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। किलियन एम्बाप्पेको प्रहार भ्यालेन्सियाका खेलाडीबाट रोकिएर फर्किएपछि प्राप्त बललाई उनले शक्तिशाली प्रहारमार्फत जाली चुमाएका थिए । त्यसको आठ मिनेटपछि आर्दा गुलरले रियलको अग्रता दोब्बर बनाए। जुड बेलिङ्घमको प्रहार भ्यालेन्सियाका खेलाडीबाट डिफ्लेक्ट भएर आएको बललाई गुलरले नजिकबाट गोल गरेका थिए ।

पहिलो हाफमा दुई गोलले पछि परेको भ्यालेन्सियाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि रियलको रक्षापङ्क्ति तोड्न सकेन । गोलरक्षक थिबाउट कोर्टुवाले भ्यालेन्सियाका केही प्रहार रोकेका थिए । खेलको ७५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै रियलको जित सुनिश्चित गरे। गुलरको उत्कृष्ट पासमा बल अघि बढाएका एम्बाप्पेले गोलरक्षकलाई छलाउँदै बललाई जालीको दिशा दिएका थिए ।

खेलको ७९औँ मिनेटमा भ्यालेन्सियाका कप्तान होसे गया एम्बाप्पेमाथि फाउल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भएको थियो । यस जितसँगै रियल म्याड्रिडले लिगमा आफ्नो दबदबा कायम राखेको छ । उता, भ्यालेन्सिया भने १२ खेलबाट नौ अङ्कसहित तालिकाको रेलिगेसन क्षेत्रमा रहेको छ ।