यू-१९ एसिया कपको उपाधि भारतको पोल्टामा

  • Image एजेन्सी
  • २८ कार्तिक २०८३, शनिवार
  • 35 पटक हेरिएको
यू-१९ एसिया कपको उपाधि भारतको पोल्टामा

एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । आज भएको फाइनलमा भारतले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै उपाधि जितेको हो । 

फाइनल खेलमा ३३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले अन्तिम बलमा ९ विकेट गुमाएर ३३९ रन बनाउँदै उपाधि जित्न सफल भयो ।

एक समय २५२ रनमा ८ विकेट गुमाएर हारको संघारमा पुगिसकेको भारतीय टोलीका लागि तल्लो क्रमका ब्याटरहरूले सानदार प्रदर्शन गर्दै खेलको नतिजा नै आफ्नो पक्षमा पारिदिए ।

भारतको लक्ष्य पछ्याउने क्रममा ओपनर लक्ष्य रायचन्दानीले १०१ बलमा ८० र चोटका बाबजुद पनि क्रिजमा डटेर खेलेका आयवीर सेहवागले ५८ रन बनाए । तर, खेलको असली मोड भने ७औँ नम्बरका  आएका मानल चौहान र १०औँ नम्बरका ब्याटर मोहित उल्भाबीच भएको साझेदारीले लियो । उनीहरूले तीव्र दबाबका बीच उत्कृष्ट ब्याटिङ गर्दै ५.५ ओभरमै ५७ रनको महत्वपूर्ण साझेदारी गरे ।

मानलले ४७ रन बनाएर आउट भए पनि मोहित उल्भाले २६ बलमा अविजित ४९ रन तथा अन्तिम खेल खेलिरहेका चिगुरुपती वेंकटाले ८ बलमा अविजित ११ रनको योगदान दिए ।

अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक रहेको अवस्थामा अन्तिम बलमा चौका प्रहार गर्दै मोहितले भारतलाई सनसनीपूर्ण जित दिलाए र पाकिस्तानको हातबाट उपाधि खोस्दै एसिया कपको उपाधि भारतको पोल्टामा हाले ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानका लागि ओपनिङ ब्याटर उस्मान खानले १११ बलमा १०७ रनको उत्कृष्ट शतकीय पारी खेले भने अब्दुल कादिरले ५४ बलमै ८० रनको आक्रामक अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान फरहान युसुफले ६३ रन जोडेर टोलीको स्कोर उकास्न मद्दत गरे ।

एक समय सहजै ३५० रनभन्दा बढीको योगफलतर्फ अग्रसर रहेको पाकिस्तानलाई भारतीय बलर काव्या परेस पटेल र चिगुरुपती वेंकटाले अन्तिम ओभरहरूमा अंकुश लगाए । काव्याले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने वेंकटाले ३ विकेट हात पारे । मध्यक्रम र डेथ ओभरहरूमा भारतीय बलरहरूले कसिलो बलिङ गर्दै पाकिस्तानलाई कम रनमै रोक्न सफल भएका थिए ।