काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणको आफ्नाे अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजविरुद्ध टस हारेकाे छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। त्यससँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।
दुवै टोली समान ८ अंकसहित मैदान उत्रिएका छन्। काठमाडौंले पाँच खेलबाट चार जित र एक हारसहित ८ अंक जोडेको छ। त्यस्तै, सुदूरपश्चिमले ६ खेलबाट चार जित र दुई हारसहित ८ अंक बनाएको छ।
अंकतालिकामा काठमाडौं दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा छन्। आजको खेल दुवै टोलीका लागि शीर्ष स्थानमा पुग्ने अवसरसमेत हो।