काठमाडौं । एससिओ ओपन कप बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज रुस प्रस्थान गरेको छ।
रुस चेस फेडेरेसनको आयोजनामा मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हाउसमा नोभेम्बर १३ देखि १९ तारिखसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) का सदस्य राष्ट्रबीच अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममार्फत दौत्य सम्बन्ध कायम राख्ने र खेलाडीबीच खेल अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाललाई प्रतियोगितामा आमन्त्रण गरिएको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिएका छन्।
महर्जनकै नेतृत्वमा रहेको नेपाली टोलीमा अफिसियल राजु ताम्राकार, पुरुष खेलाडी क्यान्डिडेट मास्टर (सिएम) आशिष फुयाल र सिएम शुश्रुत दहाल तथा महिला खेलाडी सिएम कृतिसरा अधिकारी र सिएम निहाना श्रेष्ठ छन्।
प्रतियोगितामा २२ राष्ट्रका ८८ खेलाडीको सहभागिता रहने बताइएको छ । तालिकाअनुसार नोभेम्बर १५ मा व्यक्तिगत र्यापिड र १६ तारिखमा व्यक्तिगत ब्लिट्ज विधाका खेल हुनेछन्।
यस्तै, नोभेम्बर १७ मा पुरुष र महिला टोलीबीच र्यापिड तथा १८ तारिखमा टिम ब्लिट्जका खेल सञ्चालन हुनेछन्। प्रतियोगिताका क्रममा नेपाल बुद्धिचाल महासंघ र मस्को रिजन चेस फेडेरेसनबीच चेस खेलको विकासका विभिन्न विषयमा दुईपक्षीय महत्वपूर्ण सम्झौता हुने महासंघले जनाएको छ।