काठमाडौं । पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ को सिकार बन्दै पेभेलियन फर्किएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर १३३ रन मात्र बनाएको छ। कर्णालीलाई जितका लागि अब अन्तिम ४ ओभरमा ८५ रनको असम्भवप्रायः लक्ष्य बाँकी छ।
इनिङ्सको १५ औं ओभरको अन्तिम बलमा टोलीको स्कोर १३० रन हुँदा कप्तान सोमपाल अनौठो तरिकाले आउट भए।
कामी आफूले सट खेलेपछि पिचमा बाउन्स भएर फर्केको बललाई पुन: प्रहार गर्दा आउट भएका हुन्। उनले दोस्रो पटक बल प्रहार गरेपछि पोखरा एभेन्जर्सका विकेटकिपर अर्जुन घर्तीसहितले अपिल गरेका थिए।
टेलिभिजन अम्पायरले अम्पायर रिभ्युपछि सोमपाललाई आउट दिए रन लिने क्रममा फिल्डिङमा अवरोध पुर्याएको ठहर गर्दै अम्पायरले उनलाई ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट दिएका हुन्। सोमपालले १९ बलमा १ चौकासहित २१ रन बनाए।
कप्तान सोमपाल र पवन सर्राफ मिलेर सातौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर सोमपालको अप्रत्याशित बहिर्गमनसँगै कर्णालीको जितको सम्भावना लगभग समाप्त भएको छ।