प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न र यस क्षेत्रलाई सहजीकरण गर्न नीतिगत पुनरावलोकन तथा आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपालमा सयौँ युवा गेम एप विकासमा सक्रिय रहेको उल्लेख गरेका छन्। ‘सयौँ युवाहरू गेम एप बनाउन तल्लीन हुनुहुन्छ। हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा अघि बढाउने विषयमा छलफल गर्यौँ,’ उनले लेखेका छन्, ‘अब उहाँहरूका समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ। नेपालबाटै ग्लोबल युनिकर्न कम्पनी बनाउन सहज हुने नियम र वातावरण निर्माणका लागि आवश्यक सबै पक्षको पुनरावलोकन गर्नेछौँ।’
प्रधानमन्त्री शाहले नेपालमै विकसित गेमिङ एपहरूले विश्वभर पहिचान बनाइरहेको उल्लेख गर्दै यस क्षेत्रको सम्भावना र विकासका लागि सरकारले आवश्यक पहल गर्ने बताएका छन्। उनका अनुसार विश्वभर लोकप्रिय लुडो गेमले करिब २० करोड र कलब्रेक गेमले १५ करोडभन्दा बढी डाउनलोड हासिल गरेका छन्। यी गेम नेपालीले नै विकास गरेको उल्लेख गर्दै उनले सयौँ युवा गेम विकासमा सक्रिय रहेको बताएका छन्।
त्यसैगरी, नेपालबाटै विश्वस्तरीय ‘ग्लोबल युनिकर्न’ कम्पनी स्थापना गर्न अनुकूल वातावरण निर्माण गरिने प्रधानमन्त्री शाहले बताएका छन्। आईटी उत्पादन तथा निर्यातको सम्भावनालाई ध्यानमा राख्दै यस क्षेत्रका कम्पनीले सहज रूपमा आम्दानी गर्न र त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण बनाइने उनको भनाइ छ।
यसका लागि कर प्रणालीलाई सहज बनाउने, नीतिगत सुधार गर्ने तथा अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी विद्यमान कडा र परम्परागत नियमलाई थप सहज बनाउने विषयमा काम गरिने उनले उल्लेख गरेका छन्।
गेमिङ र समग्र आईटी क्षेत्रलाई प्रवर्द्धन गर्न ‘गेम ज्याम’, ‘स्टार्टअप इभेन्ट्स’ तथा ‘ह्याकाथन’ जस्ता कार्यक्रमहरूमा लगानी गरिने र आईटी क्षेत्र, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच निरन्तर र नियमित छलफलको वातावरण मिलाइने उनले बताएका छन्।
नेपाली युवाको सीप, सिर्जनशीलता र प्रविधिको क्षमतालाई उपयोग गर्दै नेपालमै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने आईटी तथा गेमिङ उद्योगको विकास गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।