रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

  • Image नेप्लेज
  • ३ कार्तिक २०८३, मङ्गलवार
  • 121 पटक हेरिएको
रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

। काठमाडौं । पोर्चुगल फुटबल महासङ्घले कप्तान क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको शिविर छाडेको घटनामा ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गर्ने निर्णय गरेको छ।

४१ वर्षीय रोनाल्डोले गत महिना डेनमार्कमा भएको अन्तर्राष्ट्रिय खेलअघि राष्ट्रिय टोलीको शिविर छाडेका थिए ।

नर्वेविरुद्धको खेलमा बेन्चमै बसेका उनलाई डेनमार्कविरुद्ध अक्टोबर १ मा हुने खेलमा पनि सुरुआती टोलीमा नराखिने जानकारी दिइएपछि उनले शिविर छाडेका थिए ।

रोनाल्डोले प्रशिक्षक जर्ज जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै विश्वासको गम्भीर उल्लङ्घन भएको बताएका थिए । उनले आफ्नो व्यवहारप्रति माफी माग्दै सजाय भोग्न तयार रहेको पनि बताएका थिए ।

पोर्चुगल फुटबल महासङ्घको अनुशासन समितिले रोनाल्डोको पश्चात्ताप, फुटबलमा उनको योगदान र खेलकुदमा हासिल गरेको उपलब्धिलाई ध्यानमा राखेर सजाय निर्धारण गरेको जनाएको छ ।

रोनाल्डोले आफ्नो बचाउका क्रममा व्यक्तिगत उपलब्धि र सम्मानसम्बन्धी विवरणसमेत पेस गरेका थिए । डेनमार्कविरुद्धको खेल भएको दिनदेखि नै निलम्बन लागू हुने भएकाले रोनाल्डोले १९ दिनको सजाय पूरा गरिसकेका छन् । त्यसैले उनले पोर्चुगलको आगामी कुनै पनि खेल गुमाउनुपर्ने छैन ।

पोर्चुगलले नोभेम्बर १४ मा डेनमार्कसँग पुनः खेल्नेछ भने त्यसको तीन दिनपछि वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलका प्रशिक्षक जर्ज जेसुसले रोनाल्डोसँग कुनै सहमति नभएको दाबी गरे पनि उनको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावना खुला राखेका छन्।

पोर्चुगल फुटबल महासङ्घका अध्यक्ष पेद्रो प्रोएन्साले पनि विवाद समाधान भएपछि रोनाल्डोलाई टोलीमा फर्काउने बलियो चाहना रहेको बताएका छन् ।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन् । दुवै उपलब्धि पुरुष अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमान हुन्। उनको योगदानमा पोर्चुगलले सन् २०१६ को युरोपेली च्याम्पियनसिपसहित दुई पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।

रोनाल्डो सन् २०२२ को डिसेम्बरमा साउदी अरेबियाको क्लब अल नासरमा आबद्ध भएका थिए । उनले गत वर्ष क्लबसँग सम्झौता नवीकरण गरेका थिए ।