हुन्डाई नेपालको लुम्बिनी लायन्ससँग साझेदारी

  • Image नेप्लेज
  • ३० आश्विन २०८३, शुक्रवार
  • 104 पटक हेरिएको
हुन्डाई नेपालको लुम्बिनी लायन्ससँग साझेदारी

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित हुन्डाई नेपाल र एनपीएलको दोस्रो सिजनको उपाधि विजेता लुम्बिनी लायन्सबीचको साझेदारीले उत्कृष्टता, दृढ संकल्प, टिमवर्क र सफलताको साझा लक्ष्यलाई प्रतिबिम्बित गरेको कम्पनीको धारणा छ।

लुम्बिनी लायन्सले एनपीएलको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो।

ऐतिहासिक जितसँगै उपाधि आफ्नो नाममा राख्न सफल लायन्स अहिले तेस्रो सिजनमा पनि आफ्नो वर्चस्व कायम राख्ने लक्ष्यसहित तयारीमा जुटिरहेको छ। यही अभियानमा हुन्डाई नेपालले टोलीलाई साथ दिने भएको हो।

यस सहकार्यबाट हुन्डाई नेपालले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका साथै खेलप्रेमी र क्रिकेट समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।

खेलकुदमा आवश्यक मेहनत, अनुशासन, सामूहिक प्रयास र जितप्रतिको प्रतिबद्धतालाई प्रोत्साहन गर्नु साझेदारीको प्रमुख उद्देश्य रहेको छ। ‘ड्रिभन बाइ हुन्डाई’ नारालाई केन्द्रमा राखिएको यस साझेदारीले खेलकुदप्रतिको हुन्डाई नेपालको प्रतिबद्धता र नेपाली खेल प्रतिभालाई प्रोत्साहन गर्ने चाहनालाई उजागर गरेको छ। एनपीएलजस्तो लोकप्रिय प्रतियोगितासँग जोडिएर हुन्डाईले देशको बढ्दो क्रिकेट संस्कृतिसँग आफ्नो सम्बन्ध विस्तार गर्ने अवसरसमेत प्राप्त गरेको छ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी