एनपीएलमा डीआरएस भित्र्याउने तयारी, दुई करोडसम्म खर्च लाग्ने अनुमान

  • Image नेप्लेज
  • ३० आश्विन २०८३, शुक्रवार
  • 82 पटक हेरिएको
एनपीएलमा डीआरएस भित्र्याउने तयारी, दुई करोडसम्म खर्च लाग्ने अनुमान

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि भित्र्याउने तयारी गरेको छ ।

प्रतियोगितालाई थप निष्पक्ष र व्यावसायिक बनाउन उक्त प्रविधि प्रयोग गर्ने गृहकार्य भइरहेको र यसका लागि डेढदेखि दुई करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

क्यानका सचिव पारस खड्काले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा डीआरएस प्रविधि प्रयोगका विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने जानकारी दिए ।

उनका अनुसार प्रविधि भित्र्याउने विषयमा आवश्यक प्रक्रिया अघि बढिरहेको छ । यद्यपि, अन्तिम निर्णय भने प्रक्रिया पूरा भएपछि मात्रै सार्वजनिक गरिनेछ ।

डीआरएस लागू गर्दा खेलको अवधि आधा घण्टासम्म लम्बिन सक्ने भएकाले प्रतियोगिताको निर्धारित तालिकामा समेत केही हेरफेर गर्नुपर्ने अवस्था आउन सक्ने खड्काले बताए ।

हालको कार्यतालिकाअनुसार खेल दिउँसो साढे ४ बजे सुरु गर्ने योजना छ । तर, एकै दिन दुई खेल हुने (डबल हेडर) दिनमा समय व्यवस्थापनका लागि खेल सुरु हुने समय परिवर्तन गर्नुपर्ने हुन सक्छ ।

यसअघि साँझ सवा ७ देखि साढे ७ बजेसम्म खेल सकिने अनुमान गरिएकोमा डीआरएस प्रयोगपछि राति ८ देखि सवा ८ बजेसम्म पुग्न सक्ने आकलन गरिएको छ ।

चिसो मौसम र शीत (ड्यू)को प्रभावलाई समेत ध्यानमा राख्दै खेल केही छिटो सुरु गर्ने विकल्पमा छलफल भइरहेको खड्काले जानकारी दिए ।डीआरएस प्रविधि प्रयोगका लागि लाग्ने अनुमानित डेढदेखि दुई करोड रुपैयाँ खर्च क्यान र प्रतियोगितामा सहभागी आठवटै फ्रान्चाइजी टोलीले संयुक्त रूपमा व्यहोर्ने योजना छ ।

व्यावसायिक प्रसारण अधिकार (कमर्सियल मिडिया राइट्स)बाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत बाँडफाँट हुने हिस्साबाट उक्त खर्च समायोजन गरिनेछ । यसबाट कुनै एक पक्षमाथि मात्रै आर्थिक भार नपर्ने खड्काको भनाइ छ ।

क्रिकेट समर्थक, सहभागी टोली र समग्र नेपाली क्रिकेटको प्रतिष्ठाका लागि डीआरएस प्रविधि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै क्यानले आवश्यक प्रक्रिया टुङ्गिएपछि यससम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी