काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ ।
नेपालले पहिलो खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपालसँगै अफगानिस्तान र आयोजक जापान समूह ‘ए’ मा रहेका छन् ।
समूहको पहिलो खेलमा अफगानिस्तानले बिहीबार जापानलाई पराजित गरिसकेको छ ।
नेपालले आज अफगानिस्तानसँग खेलेपछि समूह चरणमा जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा पुगेमा नेपालले समूहगत समीकरणअनुसार भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि सम्पन्न एसियाली खेलकुदमा पनि नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलसम्म पुगेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।