नेपालमा हाप्किडो खेलको विकास र विस्तारसँगै खेल पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा “अन्तर्राष्ट्रिय हाप्किडो खेल तथा पर्यटन महोत्सव–२०२७” आयोजना हुने भएको छ ।
नेपाल हाप्किडो संघको आयोजनामा आगामी जनवरी २ र ३, २०२७ मा हुने महोत्सवमा नेपालसहित विभिन्न देशका हाप्किडो ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक, खेलाडी तथा खेल सम्बद्ध प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
“खेलमा एकता, पर्यटनको प्रवद्र्धन र मित्रताको निर्माण” भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले खेललाई पर्यटनसँग जोड्दै नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदाय माझ परिचित गराउने लक्ष्य लिएको छ । नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराका अनुसार महोत्सवलाई केवल खेल प्रतियोगितामा सीमित नराखी नेपालको पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय खेल सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा विकास गरिनेछ ।
“अन्तर्राष्ट्रियस्तरबाट आउने खेलाडी, प्रशिक्षक तथा प्रतिनिधिहरूलाई पोखराका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गराउनुका साथै नेपालको सांस्कृतिक विविधतासँग परिचित गराउने कार्यक्रम समेत समेटिनेछ,” महराले जानकारी गराए । अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र प्रतिनिधिहरूको सहभागिताले पोखराको आतिथ्य, पर्यटन, होटल तथा यातायात क्षेत्रसँगै स्थानीय व्यवसायमा समेत गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सव नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षकसँग प्रत्यक्ष अनुभव आदानप्रदान गर्ने अवसर समेत बन्ने आयोजकको भनाइ छ । य
सबाट अन्तर्राष्ट्रिय प्रशिक्षण पद्धति, प्राविधिक अभ्यास तथा खेल विकासका नयाँ प्रविधिबारे जानकारी प्राप्त गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । त्यसैगरी, हाप्किडो खेलाडी, प्रशिक्षक र प्राविधिक अधिकारीको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा भविष्यमा नेपालमा थप अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने आधार निर्माणमा महोत्सवले सहयोग पुर्याउने बताइएको छ ।
महोत्सवमा सहभागी विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा प्रतिनिधिबीच खेलकुदसँगै सांस्कृतिक र सामाजिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसमेत राखिएको छ । एउटै मञ्चमा विभिन्न देशका खेलाडीको सहभागिताले अनुभव, प्रविधि र संस्कृतिको आदानप्रदानलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ ।
नेपाल हाप्किडो संघले महोत्सवलाई सफल बनाउन सरकारी निकाय, राष्ट्रिय तथा प्रादेशिक खेलकुद संस्था, स्थानीय तह, पर्यटन व्यवसायी, निजी क्षेत्र र खेलप्रेमीहरूको सहकार्य आवश्यक रहेको जनाएको छ ।
पोखरामा आयोजना हुने यस महोत्सवले हाप्किडो खेलको अन्तर्राष्ट्रिय सम्पर्क विस्तारसँगै नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव र सिकाइको अवसर सिर्जना गर्ने तथा नेपालको प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्भावनालाई खेल मार्फत विश्व समुदायमाझ प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।