काठमाडौं। नेपालमा पहिलोपटक मोबाइल खेलसम्बन्धी ठूलो प्रतियोगिताका रूपमा पब्जी मोबाइल ग्लोबल ओपनको दक्षिण एसियाली अन्तिम प्रतियोगिता सुरु भएको छ।
एक्स्ट्रिम इन्जिन ड्रिङ्कको मुख्य प्रायोजनमा बुधबारबाट सुरु भएको प्रतियोगिता असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।
नेपालमा खेल तथा विद्युतीय खेलप्रति बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इन्जिन ड्रिङ्कको अनुभव क्षेत्रसमेत सञ्चालन गरिएको छ।
उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, तस्बिर खिच्ने अवसर तथा तत्काल पुरस्कार वितरणलगायतका कार्यक्रम सञ्चालन गर्ने छ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एक्स्ट्रिम मोबाइल तथा अनुभव क्षेत्र, सामूहिक रूपमा खेल हेर्ने क्षेत्र, एक्स्ट्रिम खेलकुद चुनौती, एक्स्ट्रिम तस्बिर तथा सामग्री क्षेत्रलगायतका गतिविधि सञ्चालन हुनेछन्।
आयोजकका अनुसार प्रतियोगिताले दर्शकलाई मनोरञ्जनसँगै सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्नेछ। चार दिनसम्म चल्ने प्रतियोगिताले नेपालमा विद्युतीय खेल तथा खेलसम्बन्धी संस्कृतिलाई थप प्रवर्द्धन गर्ने विश्वास आयोजकले लिएको छ।