एसियाली खेलकुदमा नेपाल र जापान महिला भलिबल : अनुभव र स्तरमा ठूलो अन्तर

  • Image प्रदीप लेखी
  • १ आश्विन २०८३, बिहिवार
  • 62 पटक हेरिएको
एसियाली खेलकुदमा नेपाल र जापान महिला भलिबल : अनुभव र स्तरमा ठूलो अन्तर

जापानको आइची–नागोया शहरमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले आयोजक जापानसँग समूह चरणको खेलमा सोझो सेटमा पराजित भए पनि एसियाली स्तरको बलियो टोलीविरुद्ध खेल्ने अवसर नेपाली खेलाडीका लागि महत्वपूर्ण अनुभव बनेको छ। 

सेप्टेम्बर १६ मा भएको खेलमा जापानले नेपाललाई २५–८, २५–१२ र २५–११ ले हरायो। तीनै सेटमा जापानले सुरुदेखि नै नेपाल माथि दबाब कायम राखेको थियो। नेपालले दोस्रो र तेस्रो सेटमा केही सुधारिएको प्रदर्शन गरे पनि जापानको सर्भिस, रिसिभ, ब्लक र आक्रामक गतिको सामना गर्न कठिन भयो। 

जापान महिला भलिबलमा एसियाकै स्थापित टोलीमध्ये एक हो। २०२६ को महिला भलिबल नेसन्स लिगमा उनले प्रारम्भिक चरणमै १२ मध्ये बाह्रै खेल जितेर शीर्ष स्थानमा रह्दैं प्रतियोगिता पूरा गरेको थियो।  त्यसैगरी, अगस्ट २०२६ मा भएको एभीसी महिला भलिबल एसियन च्याम्पियनसिप अघि जापान एफआइभीवी विश्व वरीयतामा छैटौँ स्थानमा रहेको थियो। जापानले उक्त प्रतियोगितामा पनि एसियाका बलिया टोलीहरूसँग प्रतिस्पर्धा गरेको थियो। 

एसियाली खेलकुदका लागि जापानी टोलीमा युकीको वाडा, मिकु अकिमोतो, हिनाता शिगिहारा, योशिनो सातो, निकिका यामादा र नानामी सेकीलगायत खेलाडी छन्। जुन एसियाकै शसक्त खेलाडी मानिन्छ ।

नेपाल भने महिला भलिबलमा पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएको छ । एसियाली खेलकुदमा नेपाली महिला टोलीको यो दोस्रो सहभागिता हो। यसअघि सन् २०२३ को हाङझाउ एसियाली खेलकुदमा  नेपाली महिला भलिबल पहिलोपटक सहभागिता जनाएको थियो। जुन प्रतियोगितामा नेपालले मंगोलियालाई पराजित गरेको थियो।

यसपटक नेपालको टोलीमा कप्तान निरुता ठगुन्ना सहित उषा भण्डारी, र सलिना श्रेष्ठजस्ता अनुभवी तथा नयाँ पुस्ताका खेलाडीको मिश्रण रहेको छ । मुख्य प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा रहेको टोलीले एसियाली खेलकुदको तयारी राम्रै गरेपनि नेपालका लागि मुख्य चुनौती भनेको जापानको तुलनामा  नेपाली खेलाडीको अन्तर्राष्ट्रिय अनुभव, शारीरिक उचाइ, खेलको गति र नियमित उच्चस्तरीय प्रतियोगिताको अभाव देखियो। तर सर्भिस, डिफेन्स र तीव्र खेलमार्फत विपक्षीलाई दबाब दिने रणनीतिमा नेपाली टोलीले निकै जोड दिएको थियो। 

नेपाल र जापानबीचको खेलको अंक अन्तर ठूलो भए पनि यसलाई दुई टोलीको वर्तमान स्तर र अन्तर्राष्ट्रिय अनुभवको फरकका रूपमा हेर्न सकिन्छ। जापान विश्वस्तरको प्रतियोगितामा नियमित रूपमा खेलिरहेको टोली हो भने नेपाल एसियाली स्तरमा आफ्नो अनुभव र प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने क्रममा छ।

नेपालले अब समूह चरणको अर्को खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। जापान भने समूह चरणमा आफ्नो अभियान अगाडि बढाउनेछ। 

समग्रमा, जापानसँगको खेल नेपालका लागि कठिन नतिजा भए पनि नेपाली महिला भलिबलको अन्तर्राष्ट्रिय अनुभव बढाउने महत्वपूर्ण अवसर बनेको छ। एसियाली खेलकुदजस्तो ठूलो मञ्चमा निरन्तर सहभागिता र बलिया टोलीसँगको प्रतिस्पर्धाले नेपाली टोलीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अनुभव बटुल्ने ठूलो आधार बनेको छ ।