एमएम कप : आसामद्वारा कोशी प्रदेश ९७ रनले पराजित

  • Image नेप्लेज
  • १७ वैशाख २०८२, बुधवार
  • 4002 पटक हेरिएको
एमएम कप : आसामद्वारा कोशी प्रदेश ९७ रनले पराजित

बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले प्रभावशाली जित दर्ता गरेको छ।

बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सशक्त उपस्थिति जनायो।

आसामले दिएको २१० रनको लक्ष्य पछ्याउँदै कोशीले ३७.२ ओभरमा ११२ रनमै सम्पूर्ण विकेट गुमायो।

कोशीको लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५–१५ रन बनाए भने चिराग शाहले ११ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आसामका बलरमध्ये तापन कुमार शर्मा र गोकुल शर्माले समान ३/३ विकेट लिए, जबकि राज विश्वले २ विकेट तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले १/१ विकेट हात पारे।

टस जितेर पहिले ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले ४७.३ ओभरमा २०९ रन बनाउँदै सबै विकेट गुमाएको थियो।

कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन बनाए, जसक्रममा उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

अरुण सोनारले ५१ रन (७६ बलमा ३ चौका, ३ छक्का) बनाए।

राज विश्वले २४, केभिन संजीवले १५ र अमित सिन्हाले १२ रनको योगदान दिए।

३३ रनमै ३ विकेट गुमाएको अवस्थाबाट गोकुल र अरुणले चौथो विकेटका लागि १०६ रनको महत्त्वपूर्ण साझेदारी गरे।

कोशीको बलिङमा देब्रे हाते स्पिनर प्रेम कामतले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ३ मेडनसहित ४ विकेट लिए।

बिपिन महतो र भुपाल लुइँटेलले समान २/२ विकेट, तथा फिर्दोस अन्सारी र प्रकाश कार्कीले १/१ विकेट लिए।

ब्याट र बलिङ दुवैमा योगदान दिएका गोकुल शर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भए।