झरीकाेबीचमा गरिएकाे सागकाे पूर्वाधार निरीक्षण कतिकाे काम लाग्ला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-३१
  • |
  • 216 पटक हेरिएको

नेपालमा तेस्रो पटक आयोजना हुन लागेको दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) आउन साढे दुई महिनाको समय बाँकी रहेका बेला पूर्वाधार समयमा नै बन्छ की बन्दैन भन्ने ठूलो प्रश्न रहेको छ ।

साग आयोजना सफल रुपमा सम्पन्न पार्ने मुख्य जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद्ले समयमा नै सबै पूर्वाधार तयार हुन्छन् भनेर बताइरहेको छ । यस्तैमा संसदको शिक्षा स्वास्थ्य तथा खेलकुद उपसमितिले सागका लागि बनिरहेका खेलकुद पूर्वाधारको निरिक्षण गर्‍याे।

मिति २०७६ भदौ ३१ गते, समय दिउसो साढे एक बजे, झम झप पानी परिरहेकाे थियाे । साढे १२ बजे मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई पूर्वाधार निरीक्षणका लागि समय छुट्याउन भनिएको थियो । तर ट्राफिकको समस्या देखाउँदै झण्डै एक घण्टा ढिलो गरि संसदको शिक्षा स्वास्थ्य तथा खेलकुद उपसमितिका पदाधिकारी एकपछि अर्को गरि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुगे ।

झमझम पानी परिरहेका बेला उपस्थित भएका एन्फाका पदाधिकारी पनि र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवदेखि अरु पदाधिकारी कसरी पूर्वाधारको निरिक्षण गर्ने होला भन्दै कुराकानी गरिरहेका थिए । यस्तैमा सुरु भयो पुनर्निर्माण भइरहेको कर्भडहलको भवन । त्यहाँ समितिका संयोजक रहेका जीवनराम श्रेष्ठले परिषद्का पदाधिकारीलाई समितिको बारेमा जानकारी दिनुका साथै सागको पूर्वाधारलाई कसरी चुस्त गरि काम गराउन सकिन्छ भन्नेमा अवलोकन गरेर रिपोर्ट गर्न आएको बताए ।

त्रिपुरेश्वस्थित कवर्डहलबाट सुरु गरिएको निरीक्षण दशरथ रंगशाला, सातदोबाटोको पौडीपोखरी, कराँते हल तेक्वान्दो हल हुँदै सुटिङ रेञ्जमा गएर टुङिएको थियो । सांसदहरुले अनुगममा आँसिक संतोषजनक रहे पनि पूर्णरुपमा भने संतोष हुन नसकेको प्रतिकृया ब्यक्त गरे ।

राखेप कवर्डहलको लाइट र साउण्ड सर्भिस जडान भए पनि रंगरोगनको काम अझै सकिएको छैन । यस्तै दशरथ रंगशालाको पश्चिम तर्फको भिआइपी प्याराफिटको छानो हाल्ने काम पुरै बाँकी रहेको छ भने चेन्जिङ रुम भीआइपी रुम, शौचालय लगायतको भित्री काम अझै सकिन बाँकी छ ।

सातदोबाटोको पौडी पोखरी, सुटिङरेञ्ज, कराँते र तेक्वान्दो हल पूर्ण रुपमा निर्माण भइसके पनि हिटिङ सिस्टमको पौडी पोखरीको ७० प्रतिशत काम मात्र सकिएकोले समिति केही आँशंकित देखियो ।

बाहिर पानी परिरहेकाले कराँते हलमा भने कतै कतै पानी चुहिरहेको थियो । त्यो देखेपछि समितीका संयोजक श्रेष्ठले तत्काल यसलाई मर्मत गर्न आग्रह गरे । जवाफमा सदस्यसचिव सिलवालले त्यसको चिन्ता नर्गन भन्दै यो सबै काम लगायत अरु पूर्वाधारको काम कार्तिक १५ सम्ममा सकिने आश्वासन दिए ।

जुन किसिमको आश्वासन परिषद्ले दियो त्यो हेर्दा पूर्वाधारको काम सहज रुपमा नै सकिन्छ भन्ने जस्तो लागेको छ । तर बोलीको कुरालाई कार्यान्वयन गरेर भनेको समयमा नै काम भने पुरा हुने हो की होइन, त्यो पो चासोको विषय बनेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey