नेपाली क्रिकेटका भविश्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०७
  • |
  • 229 पटक हेरिएको

चैत ७, काठमाडौं । बितेको १ महिना नेपाली क्रिकेटले दुई ठूला प्रतियोगिता खेल्यो, आवश्यक खेलहरु जितेर नेपालले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता पायो । तर, नेपाली टिमप्रति धेरैको गुनासो अहिले पनि के रहेको छ भने एकदिवशीय मान्यता पाए पनि नेपालको ब्याटिङ चाहि कहिल्यै नसुध्रने भयो ।

हुन पनि नामिविया र जिम्बावे भ्रमणमा नेपालले १२ लिष्ट ए खेल खेल्यो, जसमा कप्तान पारस खड्काबाहेकका अन्यको ब्याटिङले नेपाली समर्थकमात्र होइन स्वयम् खेलाडीनै सन्तुष्ट छैनन् । उनीहरु भन्छन् कि हामीले राम्रो ब्याटिङ गर्न नसकेकै हो ।

तर, नेपालको फ्लप ब्याटिङ लाइनअपकै बीच कालो बादलमा चाँदीको घेरा भनेझैं टिमका युवा प्रतिभाहरु छन्, जसले नामिविया र जिम्बावेमा एउटा आशा देखाएका छन्, आगामी चार वर्ष एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता रहिराख्दा यिनै युवा ब्याट्सम्यानले नेपालको ब्याटिङ काँधमा बोक्नसक्ने अपेक्षा गरिएको छ ।

रोहित कुमार पौडेल

१७ वर्षीय युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले क्रिकेट सिक्न थालेको चार वर्षमात्र भयो । नवलपरासीबाट बालुवाटार क्रिकेट एकेडेमीमा आएर ब्याट समाउन सिकेको चार वर्षको समयमा उनले यू–१९ हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा गरे ।

नामिवियामा भएको आईसीसी डिभिजन टू क्रिकेटमा नामिवियाबिरुद्धको खेलमा डेब्यू गरेका रोहितले एक महिनाको बीचमा १२ लिष्ट ए म्याच खेले । २६ को औषतमा उनले २३७ रन बनाएका छन् । विश्वकप छनोटमा हङकङबिरुद्धको म्याच विनिङ अविजित ४८ रन उनको अहिलेसम्मको सर्बाधिक स्कोर हो ।

सिनियर टिमको म्याच एक्स्पोजरबारे उनले भनेका छन् कि, ‘सिनियर दाइहरुसँग ड्रेसिङ रुम शेयर गर्न पाएँ, पोजेटिभ कुराहरु सिकियो, जिम्बावेमा टेष्ट प्लेइङ राष्ट्रसँग खेल्न पाएँ ।’

मध्यक्रममा खेल्दा अवस्य पनि दवाव त धेरै हुन्छ नै, त्यसमा पनि नेपालको टप अर्डरले राम्रो गर्न नसकिरहेको अवस्थामा मध्यक्रमका ब्याट्सम्यानमा जिम्मेबारी धेरै हुन्थ्यो । नामिविया र जिम्बावेमा नेपालले जितेका खेलमा रोहितको पारी निर्णायक थियो ।

‘डेब्यू म्याच र १२औं खेल मेरा लागि समान थियो, नामिवियासँगको डेब्यू खेलमा ५–६ विकेट खसिसकेको थियो । म ब्याटिङमा आउँदा अर्को एण्डमा शरद (भेषावकर)दाई हुनुहुन्थ्यो, मैले कसरी उहाँलाई स्ट्राइक रोटेट गर्ने भन्नेमात्र सोचेको थिएँ । ब्याट्सम्यानको रुपमा मैले खेललाई जिताउन सकिन भन्ने ग्लानी रहिरह्यो ।’

खेल जिताउन पाएपछिको खुसीको क्षण उनी शब्दमा ब्यक्त गर्न सक्दैनन् । हङकङबिरुद्धको जित एकदिवशीय मान्यताका लागि अपरिहार्य थियो । सोमपालसँग मिलेर लामो साझेदारी गरेपछि नेपालले ५ विकेटको जित हासिल गर्न सफल भयो । त्यस खेलमा अविजित ४८ रनको पारी खेलेका रोहित भन्छन्, ‘हामीले जित्नैपर्ने थियो, तर ५ विकेट गइसकेको थियो । सोमपाल दाइ र मैले राम्रो साझेदारी गर्न सक्यौं र जितियो, म्याच जितेपछिको अनुभव कसरी व्यक्त गर्नु ?’

तर, उनले प्रतियोगितामा ब्याटिङ राम्रो हुन नसकेको स्वीकारे । भने, ‘सबै दाइहरुले नराम्रो खेल्नुभएको होइन, राम्रो बलमा पनि दुर्भाग्यबस आउट हुनुपरेको धेरै अवस्थाहरु छ । आफ्नो शतप्रतिशत खेल्दा पनि कहिलेकाहीँ त्यस्तै हुन्छ । तर, ब्याटिङमा ओपनिङ धेरै महत्वपूर्ण हुन्छ, ओपनिङ पार्टनरसिप राम्रो भयो भने पछिका ब्याट्सम्यानका लागि मोरल हाइ हुन्छ र अवश्य नै टिमको स्कोर हाइ हुन्छ ।’

रोहितलाई लागेको छ कि जसोतसो जितियो र एकदिवशीय मान्यता हासिल भयो । तर, चार वर्ष एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि घरेलु क्रिकेटको संरचना र भौतिक पूर्वाधारमा धेरै ध्यान दिइनुपर्ने भनाइ उनको छ । नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा रहेको अवस्थामा उनले यू–१६ उमेर समूहमा खेल्न पाएनन् । ट्यालेन्ट हण्टमार्फट यू–१९ टिममा उदाएका रोहितलाई लागेको छ, ‘म जस्तै क्रिकेटरहरुका लागि राम्रो प्ल्याटफर्म होस् ।’

‘हाम्रो लागि यो चार वर्ष निक्कै महत्वपूर्ण छ, हामीले टेष्ट मान्यता हासिल गर्ने लक्ष्य लिने हो भने यो चार वर्षमा जति राम्रो गर्न सक्छौं नेपाली क्रिकेटको भविश्य यसैले निर्धारण गर्छ ।’ रोहितले थपे, ‘हामीले मैदानभित्र शतप्रतिशत एफोर्ट लगाएर खेल्ने हो, मैदानबाहिरको समस्या पनि समाधान भएर राम्रो हुँदै गएमा हामीलाई अझै हौसला हुन्छ ।’

दिपेन्द्र सिंह ऐरी

१ वर्षअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याबिरुद्धको खेलसँगै सिनियर टिमबाट डेब्यू गरेका दिपेन्द्र सिंह ऐरी अहिलेको टोलीमा नियमित सदस्य हुन् । चौथो नम्बरका नियमित ब्याट्सम्यान बनिसकेका उनको प्रदर्शन नामिविया र जिम्बाबेमा आशातित रह्यो, जसले भविश्यमा उनले नेपालको ब्याटिङमा नेतृत्व लिन सक्नेछन् ।

उनले नामिविया र जिम्बावेमा खेलेको १२ लिष्ट ए खेलमा २२७ रन जोडे । विश्वकप छनोट अन्तर्गत क्रश प्लेअफमा पपुवा न्यूगिनीबिरुद्ध उनको अलराउण्ड प्रदर्शनले नेपालले एकदिवशीय मान्यता हासिल गरेको थियो । त्यस खेलमा उनले बलिङमा अरिकरकै उत्कृष्ट प्रदर्शन गर्दै ४.२ ओभरमा १४ रन दिएर ४ विकेट लिँदा ब्याटिङमा अविजित ५० रन प्रहार गरे ।

पीएनजीबिरुद्धको इनिङ दिपेन्द्र यसरी स्मरण गर्छन्, ‘हाम्रा लागि त्यस खेल जित्नैपर्ने थियो, ड्रेसिङ रुममा पनि सल्लाह भएको थियो, हामीले पहिला बलिङ ग¥यौं, सौभाग्यले त्यस दिन मेरो थियो, पुच्छारका ४ व्याट्सम्यानलाई आउट गरी पीएनजीलाई सस्तैमा समेट्न सफल भइयो ।’

दिपेन्द्रले सिनियर टिमबाट बलिङ गरेको जिम्बावेमा मात्र हो । जहाँ उनले ७ विकेट लिए । यसअघि मिडियम पेस बलिङ गर्ने उनले कम्मरको चोटका कारण स्पिन थालेका थिए ।

‘ब्याटिङमा पनि सुरुआती ४ विकेट झरिसकेको अवस्थामा आरिफसँग मिलेर लामो साझेदारी गर्न सकेँ ।’

तर, नामिविया र जिम्बावेमा अपेक्षाअनुसारको ब्याटिङ गर्न नसकेको स्वीकारोक्ति दिपेन्द्रको पनि छ ।

‘हामीमा म्याच एक्स्पोजर धेरै आवश्यक छ । लिस्ट ए, ओडीआई खेल्दैछौं भने हामीले मानसिक रुपमा बलियो हुनुपर्छ जस्तो लाग्छ, यसका लागि धेरै भन्दा धेरै म्याच एक्स्पोजरले काम गर्छ । हामीले एकदिवशीय मान्यता पाएका छौं, त्यसलाई अबसरको रुपमा लिएर र राम्रो गर्नुपर्छ ।’

दिपेन्द्रलाई पनि लागेको छ कि नेपाल क्रिकेट संघको निलम्बन रहिराखेको अवस्थामा एकदिवशीय मान्यता पाए पनि त्यसलाई संहाल्न गाह्रो छ । ‘हामीसँग घरेलु संरचना नै नहुँदा एकदिवशीय मान्यताले के गर्ला त ?’ उनले प्रतिप्रश्न गरे ।

क्यान यथावत रहेको अवस्थामा यू–१९ टिमबाट खेलिसकेका दिपेन्द्रले क्यान नहुँदाको बेफाइदा राम्रैसँग भोगेका छन् । ‘क्यान भएको अवस्थाको फाइदा भनेको हामीले धेरै प्रतियोगिता खेल्न पाउँथ्यौं, टि–२० मात्र नभइ एकदिवशीय खेलहरु धेरै हुन्थ्यो, खेलाडीको ग्रेडिङ सिस्टम आइसकेको थियो, खेलेर बाँँच्न सकिने आधार आउन लागेको थियो ।’

‘तर, दुर्भाग्य क्यान सस्पेन्स हुनुले हामीले धरेलु क्रिकेट खेल्न पाएनौं । खेलहरु भइरह्यो भने नयाँ नयाँ खेलाडी उत्पादन हुँदै जान्छ । त्यसले टिम बलियो हुनेनै छ, हाम्रो बेञ्च पनि बलियो हुन्छ ।’

यी बाहेक आरिफ शेख, अनिल कुमार साह, ललित राजवंशी लगायतका युवा खेलाडीहरुले पनि नेपाली टोलीमा राम्रो सम्भावना देखाएका छन् । प्रशिक्षक टमाटाले नामिवियामा रोहित र अनिल तथा जिम्बावेमा ललितलाई राष्ट्रिय टोलीबाट डेब्यू गराए । लामो समयदेखि नियमित अ‍ोपनर तथा विकेटकिपरको अभाव झेलिरहेको नेपाली टोलीका लागि अनिलले राम्रो सम्भावना देखाएका छन् भने स्पिन बलिङमा ललितले सन्दिपलाई राम्रो साथ दिन सक्छन् । साथै आरिफ शेख लयमा फर्किएका छन् ।

सिनियर र जुनियर खेलाडीको सन्तुलनताले नेपालले यहाँसम्मको उपलब्धी हासिल गरेको हो । नेपाली टिम अझै पनि पारस, ज्ञानेन्द्र, शरद, बसन्त र शक्तिकै प्रदर्शनमा भर परिराख्नुपर्ने अवस्था छैन भन्ने सन्देश पनि भएको दुई प्रतियोगिताले देखाइसकेको छ । र, आगामी चार वर्ष इन्टरकन्टिनेन्टल कप लगायत अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेलिरहँदा यी युवा खेलाडीले मैदान भित्रबाट आफ्नो शतप्रतिशत दिइरहनेछन् । यस्ता प्रतिभालाई निराशा आउन नदिन र पलायनबाट रोक्न पनि क्यानमा सक्षम नेतृत्वको आवश्यकता खड्किसकेको छ ।

साथै यी खेलाडीहरु भविश्यमा नेपाललाई टेष्ट मान्यता दिलाउन अग्रणी भूमिकामा हुनेछन्, जुन एकदिवशीय मान्यता दिलाउन पारस, बसन्त, ज्ञानेन्द्रहरुले योगदान गरेका थिए । दिपेन्द्रले भनिसकेका छन्, ‘पारस दाइहरुको पुस्ताले नेपाली क्रिकेटलाई एकदिवशीय मान्यता दिलायो, अब टेष्ट मान्यता दिलाउने पालो हामीहरुको हो ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey