पदाधिकारीको लापरवाहीका कारण नेपालको निलम्बन फुकुवा नहुने खतरा !

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 231 पटक हेरिएको

चैत्र ४ काठमाडौ । जिम्बावेमा भएको आईसीसी विश्वकप छनोटमा आवश्यक खेलमा राम्रो प्रदर्शन गर्दै नेपालले वन डे मान्यता पाएपछि यतिबेला नेपाली क्रिकेटको चर्चा विश्वभर भइरहेको छ ।

यो सफलताबाट जति खुसी खेलाडी र क्रिकेट समर्थक छन, त्यो भन्दा बढी निराशा क्रिकेट संघको विवादले गरेको छ ।

पछिल्लो दुई बर्षदेखि आईसीसीको निलम्बनमा रहेको नेपाली क्रिकेटले नयाँ तरिकाले अगाडी बढ्न निकै आवश्यक देखिएको छ ।

नेपालले १९९६ मा पहिलो पटक आइसीसीको सदस्यता पाउदा त्यो बेला क्रिकेटमा लागेका हरेक खेलाडीले सोचेका थिए, नेपालले एकदिन वन डे मान्यता पाउँछ भनेर ।

करीव २२ बर्षपछि खेलाडीको अथक मेहेनतले नेपालले त्यो सपना पुरा त गर्यो, तर विडम्बना नेपाली क्रिकेट हाक्ने पदाधिकारीको निकम्मापनले क्रिकेट भने अपांग अवस्थामा छ ।

संस्थागत भन्दा पनि ब्यक्तिगत स्वार्थका कारण आफ्नो अस्तित्व गुमाएको नेपाली क्रिकेटमा लागेका केहि पदाधिकारीका कारण क्रिकेट टुकि मुनीको अध्यारो जस्तो अवस्थामा छ ।

क्रिकेट विवादका बारेमा सल्लाहकार समितीका सदस्य तथा पूर्व कप्तान पवन अग्रवाल भन्छन, ब्यक्तिगत र समुहगत स्वार्थका कारण नेपाल क्रिकेटको समस्या समाधान हुन नसकेको हो । यदि अब पनि ध्यान नदिए नेपालको सदस्यता नै खारेज नहोला भन्न सकिन्न ।

करीव दुई बर्ष अगाडी आन्तरीक विवाद र सरकारी हस्तक्षप भएको भन्दै आईसीसीको निलम्बनमा परेपछि, उसकै रोबरोहमा तीन चरणमा विवाद समाधानका लागि छलफल पनि भयो ।

जसमा क्यानको विधान संसोधन गरेर नयाँ ढंगले जानेमा पनि सहमती भयो । तर विधान संसोधन भएको छ महिना भन्दा बढी समय हुँदा पनि केहि असन्तुष्ट पक्षका कारण गरिएका सबै प्रयासहरु थन्किएका छन ।

पछिल्लो पटक निर्वाचित भनिएको क्यान, सरकार र सल्लाहकार समितीले एकिकृत रुपमा विवाद समाधान भएको र आईसीसीको कार्यदिशा अनुसार चल्ने बताएको थियो । तर आईसीसीले आफनो कार्यदिशा पठाउँदापनि, काम गर्नुपर्ने ब्यक्ति कानमा तेल हालेर बसेका छन ।

आईसीसीले आफनो कार्यदिशामा प्रष्ट लेखेको छ, फेब्रेवरी अन्तिम सातामा साधारण सभा गर्ने, मार्चको २० तारिखमा चुनावी प्रक्रियामा जाने र सबै विवाद अक्टोबरसम्म सुल्झ्याउने भनेर ।

तेस्रो पटक पनि आईसीसीको निर्देशनलाई लत्याउँदै हिडेका क्रिकेट पदाधिकारीका कारण नेपालको सदस्यता नै खारेज त हुने होइन भन्ने डर पनि उब्जिएको छ ।

भित्र खोक्रो रुपमा रहेको क्रिकेटमा वन डे मान्यता टुप्पोमा फुलेको फल जस्तो भएको छ । क्रिकेट विवादलाई समाधानको बाटोमा अगाडी बढाउने कामको श्रेय अब सरकार आफैले लिने बेला आएको छ ।

खेलाडीको पसिनाले कमाएको सफलतालाई यथाशिघ्र अझ उचाईमा पुर्याउन भाइरसका रुपमा रहेका त्यस्ता ब्यक्तिलाई हटाएर नयाँ ढंगले अगाडी नबढे यसको कुनै मान्यता हुने छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey