‘क्रिकेट विवाद समाधानका लागि अन्तिम अवसर’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 448 पटक हेरिएको

चैत २, काठमाडौं । एशोसियट मान्यता पाएको २२ वर्षमा नेपालले एकदिवशीय मान्यता पाएको छ । यो नेपाली क्रिकेटमा सबैभन्दा ठूलो सफलता हो । दुर्भाग्य के रह्यो भने खेलाडीको एक्लो प्रयासले दिलाएको एकदिवशीय मान्यताको श्रेय नेपाल क्रिकेट संघले लिन पाएन ।

क्रिकेट सबैभन्दा लोकप्रिय रहेको अवस्थामा क्यान आईसीसीको निलम्बनमा छ । यस्तो अवस्थामा नेपालले पाएको यस सफलता र अगाडिका अवसर तथा चुनौतिहरु के के हुन सक्छन् भनेर हामीले नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा निलम्बित क्यानको फुकुवा प्रक्रियाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएको सल्लाहकार समितिका संयाजक विनयराज पाण्डेसँग कुराकानी गरेका छौं ।

एकदिवशीय मान्यता पाइसकेपछि नेपालको अबको अवसर या चुनौतिहरु के के हुन् ?

एकदिवशीय मान्यता भनेको नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो । हामीले टि–२० स्टाटस पाइसकेका थियौं, जसलाई हामीले मेन्टेन गर्न सकेनौं । आईसीसीको पछिल्लो नियम अनुसार एशोसियट सदस्यहरुले पाउने एकदिवशीय मान्यता रुपमा नेपाल त्यहाँ पुगेको हो । यो हाम्रा लागि टेष्ट मान्यताका लागि एउटा खुड्किलो पनि हो । १० वटा मुलुकमा मात्र सीमित नभइकन अरु टोली पनि टेष्ट मान्यतामा जाउन् भन्ने उद्देश्यले आईसीसीले एशोसियटहरुका लागि एकदिवशीय हुँदै टेष्ट खेल्ने बाटो दिएको हो । त्यसको पछिल्लो उदाहरण आयरल्याण्ड र अफगानिस्तान नै हो, उनीहरुले एकदिवशीयमा राम्रो गरेपछि पूर्ण सदस्य पाएका छन् ।

यो चार वर्षमा नेपालले पनि आफ्नो संरचना परिवर्तन गर्नुछ । पूर्वाधार संरचनादेखि खेल्ने स्टाइल र स्तरोन्नति गर्नुपर्छ । हामी अब चारदिवशीय खेल खेल्दैछौं । पछिल्लो समय नेपाली खेलाडीहरुले एकदिवशीय त खेल्न पाइरहेका छैनन्, घरेलु क्रिकेट भनेकै टि–२० जस्तो भइसक्याछ ।

मात्र खेलाडीको ट्यालेन्ट र एफोर्टले हामीले एकदिवशीय मान्यता पाएका हौं । त्यो मेन्टेन गर्नका लागि खेलाडीको प्रतिभाले मात्रै सक्दैन । त्यसका लागि अहिलेसम्म नेपाल क्रिकेट संघको जुन संरचना छ, त्यसलाई आमूल परिवर्तन गर्नुपर्छ । किन परिवर्तन गर्नुपर्छ त भन्दा खेलाडीले धेरैभन्दा धेरै खेल्ने अवसर पाउनुपर्यो, हाम्रो संरचना पनि दुई दिवशीय, तीन दिवशीयमा जानुपर्यो ।

त्यसका लागि सरकारको सहयोग पूर्वाधार बिकासमा, निजी क्षेत्रको सहयोग प्रतियोगिताको आयोजना लगायतका कार्यक्रममा र धेरै भन्दा धेरै नेपाली खेलाडीले वर्षभरि नै क्रिकेट खेल्ने वातावरण बनाउनुपर्ने भएकाले अबको चुनौति भनेको हिजोअस्तिको भन्दा धेरै नै कठिन छ ।

र, यसलाई म्यानेज गर्नका लागि त्यस्तो एउटा टिम आजैको दिनदेखि खडा गर्न नसकेको खण्डमा हामीले पाएको एकदिवशीय मान्यता मेन्टेन गरेर टेष्ट मान्यतासम्म परिवर्तन गराउन धेरै नै कठिन देख्छु म । त्यसैले अहिलेदेखि नै सरकारी पक्ष, निजी क्षेत्र, आईसीसी र एसीसीसँग समन्वय गरी चार वर्षको कार्यक्रम आजैदेखि सुरु गर्नुपर्छ ।

तर, नेपालको क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट संघ क्यान आईसीसीकै निलम्बनमा छ, विवादकै कारण हामीले यसअघि पाएको टि–२० मान्यता पनि सदुपयोग गर्न सकेनौं, तपाईंले भन्नुभए जस्तो सबै पक्षसँगको समन्वय अब कसले गर्ने त ?

आईसीसीको निलम्बनबारे झण्डै एक वर्षदेखि गृहकार्यपछि करिव करिव अन्तिम चरणमा त पुगिसकेको छ । अब सम्बन्धित पक्षले त्यसलाई स्वीकार गरेर नेपाली क्रिकेटका लागि म होइन त्यो संरचना महत्वपूर्ण छ भनेर महशुस गर्ने बेला आइसकेको छ ।

त्यस्तो नभएको अवस्थामा सरकारले, क्रिकेटप्रेमी र मिडियाहरुले त्यसको बिकल्प खोज्नुपर्यो । किनभने, कसैको कारणले पनि क्रिकेटलाई असर हुनुहुन्न । कसैले क्रिकेट संघ चलाउन सक्दैनन्, प्रतियोगिता आयोजना गर्न सक्दैनन्, विवादमा परिरहन्छन्, झगडा गरिरहन्छन् भने उनीहरुलाई प्रतिस्थापन गरेर राम्रा, सक्षम र व्यवस्थापनका लागि योग्य मानिसहरु ल्याउनैपर्छ ।

महाभारतमा अर्जुनका बारे एउटा कथा छ नि, तिमीले के हेर्यौ भन्दा मैले माछा त देखिन माछाको आँखामात्र देखेँ भन्छन् कि अर्जुनले, हो त्यस्तै अर्जुन दृष्टि लगाउनसक्ने सक्षम नेतृत्वको आवश्यकता छ । अर्जुनदृष्टि भनेको चार वर्षमा नेपाललाई एकदिवशीयमा स्थापित गरी टेष्ट मान्यतामा पुर्याउनु हो । त्यो भिजन भएको मानिस मात्र भएर पनि पुग्दैन, त्यसअनुसारको सुविधा, बजेट, खेलाडीको स्तरोन्नति सबै पुग्नुपर्छ ।

क्रिकेट संघको नेतृत्वमा जस्तोपायो उस्तै मान्छे आएर कामै छैन । नेपालमा क्रिकेट निकै लोकप्रिय भइसकेको छ र त्यसको नेतृत्वमा व्यवसायिक, भिजन भएको, क्रिकेट पृष्टभूमि भएको र केहि गर्छु भन्ने सोच भएको मानिस आउनुपर्छ ।

पहिला भन्दा अहिले अलिकति सजिलो के पनि छ भने राम्रो संघ बनेको खण्डमा पूर्वाधार बिकासमा बजेटको खासै समस्या हुँदैन । किनभने हिजोका दिनमा हामीले व्यक्तिगत रुपमै संघ चलाउनुपर्ने अवस्था थियो, तर आजको दिनमा एकदिवशीय मान्यता पाएर हामी टेष्ट प्लेइङ नेशनमा जान्छौं भने हाम्रो प्रशासनिक संरचना राम्रो हुनुपर्यो । व्यवसायिक म्यानेजर हुनुपर्यो, टेक्निकल मान्छे, प्रशिक्षक, बिकास निर्देशकदेखि लिएरएउटा बलियो टिम बनाएर नेपालको सातै प्रदेशमा क्रिकेट पूर्वाधार बिकास गरी प्रदेश हुँदै केन्द्रसम्म खेलाडीको उत्पादन हुने गरी संरचना बनाउनुपर्छ ।

प्रदेश प्रदेशमा एकेडेमी बनाउनुपर्छ प्रतियोगिता आयोजना हुनुपर्छ । यो सबै सोचेर ४ वर्षको योजना बनाउन मैले निकै जरुरी सोचेको छु ।

चार वर्षका लागि नेपाल एकदिवशीय मान्यता पाएको छ, घरेलु प्रतियोगिता र संरचनाको अवस्था दयनीय छ, यस्तो अवस्थामा एकदिवशीय मान्यताले नेपाललाई फाइदा बेफाइदा के हुन्छ ?

हेर्नुस् मैले त फाइदामात्र देखेको छु, बेफाइदा देखेको छैन ।

बेफाइदा यो अर्थमा कि जुनमा हुने आईसीसीको बैठकले निलम्बन फुकुवा नगरेको अवस्थामा हामीले ओडीआई स्टाटस पाए पनि केहि बेफाइदा हुन सक्छ कि भनेर

होइन, बेफाइदा हुँदैन । मैले यहाँ अमेरिकाको उदाहरण दिन उचित मान्छु । नेपाल र अमेरिकाको समान अवस्था हो । विवाद उस्तै हो उता र यताको । अमेरिकाको त सन् २००१ देखि नै यो समस्या हो । आईसीसीले तीन पटकसम्म निलम्बन गरेको थियो ।

यसपटक आईसीसीले के गरेको छ भने अस्थित्वमा रहेका दुईटै संघलाई बेवास्ता गर्दै सक्षम र व्यवसायिक मान्छेलाई ल्याएर खडा गरिदियो । नयाँ कमिटी बनाएपछि त्यसले क्रिकेट अमेरिका भनेर नयाँ संरचना सुरु गरिसक्यो ।

मेरो बिचारमा नेपालको हकमा पनि सम्बन्धित पक्षले महशुस गर्न सक्नुभएन भने वा आईसीसीले दिएको रोडम्यापअनुसार काम गर्नुभएन भने आईसीसीले एउटा निर्णय लिन्छ । त्यो निर्णय चाहीँ नेपाली क्रिकेटका लागि राम्रै हुनेछ । किनभने उसको चाहना भनेको क्रिकेट राम्रो होस भन्ने हो, न कि को मान्छे आउँछ, के गर्छ ।

मैले भन्न खोजेको के भने, अहिले आईसीसीले जुन रोडम्याप दिएको छ । अबको दुई महिनाभित्र विवाद समाधान गरी निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ । इच्छाशक्ति हुने हो भने यो समय छोटो होइन । आफूले भनेको मात्रै ठीक भन्ने, भनेको नमान्ने हो भने आईसीसीेले बैकल्पिक बाटो खोज्छ ।

तपाईले भन्न खोज्नुभएको, सम्बन्धित पक्ष (अहिलेको निर्वाचित क्यान)ले चाहने हो भने अहिलेदेखि नै गृहकार्य गरेर आगामी जुनमा निलम्बन फुकुवा सम्भव छ ?

पक्कै पनि सम्भव छ । यसअघिको बैठकमै फुकुवा हुने अवस्था थियो नि ! तर, सल्लाहकार समितिले बनाएको बिधानमा २७ ठाउँमा फेरबदल गरेपछि आईसीसीले त्यसलाई मान्यता दिएन र त्यतिबेलाको फुकुवा प्रक्रिया रोकियो । आईसीसीको म्याण्डेट अनुसार काम गर्ने हो भने गर्नुपर्यो, होइन भने ठाउँ खाली गर्नुपर्यो ।

एउटा प्रश्न तपाईंका लागि, तपाईंले नै स्थापना गर्नुभएको र क्यानको प्रशासनिक पदमा ४० वर्षसम्म रहनुभएको नाताले नेपाली क्रिकेटले हासिल गरेको सबैभन्दा ठूलो सफलताको श्रेय कुनै समय तपाईंले नेतृत्व गर्नुभएको क्यानले लिन नपाउँदा कस्तो महशुस गर्नुभयो ?

म क्रिकेटमा लागेको क्रिकेटको बिकासको लागि हो । क्रिकेट राम्रो होस्, यसको उन्नति होस भन्ने सोचले मात्रै म क्रिकेटमा लागेको हुँ । क्रिकेटले राम्रो गर्नेबित्तिकै म यसै खुसी हुन्छु । म भएको बेलामा सफल भएन, म नभएको बेलामा सफलता हासिल गर्यो भन्न मिल्दैन ।

तर, तपाईंले भन्नुभएजस्तो नेपाली क्रिकेटको सफलताको श्रेय क्रिकेट संघले लिन पाएन, यो साँच्चिकै दुर्भाग्य र दुःखदायी हो । मैले झण्डै ४० वर्ष महासचिव, उपाध्यक्ष र अध्यक्ष भएर काम गरेँ । जसले जेसुकै भने पनि मेरो दाबी के छ भने क्रिकेटप्रति मेरोजतिको लगाव र योगदान अरु कसैको छैन । त्यो पनि नेपालको क्रिकेट राम्रो भएको बेलामा, क्रिकेट संघको उचाई कहाँ पुग्नुपर्ने अवस्थामा अनावश्यक विवाद गरेर, झगडा गरेर बस्दा मलाई जत्तिको दुःख कसलाई लागेको होला र ? तर, मैले के गर्न सक्छु र ? मैले त खाली यसको राम्रो होस्, विवाद समाधान होस्, व्यवसायिक मान्छे आएर क्रिकेटलाई अझै अगाडि बढाउन् भन्ने सोचबाहेक मैले के गर्न सक्छु र ?

कुराकानीका क्रममा तपाईंले पटक पटक सक्षम व्यवस्थापकको आवश्यकता रहेको दोहोर्याउनुभयो । क्रिकेट संघका लागि आजको दिनमा तपाईं नै फर्कन किन सक्नुहुन्न ?

त्यस्तो होइन, नेपाली क्रिकेटमा मेले यसअघि जे गरेँ, म खुसी छु, यो संघ विग्रिएकोमा दुखी पनि छु । तर, म नै निर्विकल्प होइन । नेपाली क्रिकेटको सही व्यवस्थापन गर्न सक्ने धेरै मान्छेहरु छन् । तर, छान्दा राम्रो टिम छान्नुपर्यो । पछिल्लो समय नेपाली क्रिकेटमा जुन मानिसहरु आए, मलाई लाग्दैन कि उनीहरु आफ्नो पोजिसनमा फिट थिए ।

त्यसैको परिणाम आजको दिनमा हामी हेरिरहेका छौं । भलै खेलाडीले आफ्नै एफोर्टमा खेलेर एकदिवशीय मान्यता पाएर अहिले हामी कुरा गरिराखेका छौं, यस उपलब्धीमा उहाँहरुको योगदान वा संग्लग्नता त केहि पनि छैन ।

म आउने भन्दा पनि निश्वार्थी र क्षमतावान मानिस खोज्नुपर्छ । जसले नेपाली क्रिकेटलाई योगदान दिन सकोस् । क्रिकेट हामीले मात्रै गरेर यहाँसम्म आएको होइन । जिल्ला जिल्लामा निस्वार्थ र अवैतनिक रुपमा क्रिकेटको सेवा गरिरहेका मानिसहरु छन् । निस्वार्थ रुपमा क्रिकेटको बिकासका लागि लाग्नुभएको थुप्रै छन् ।

पछिल्लो एक महिनाको अवधिमा हामीले हाम्रो लागि निक्कै ठूला दुई प्रतियोगिता खेल्यौं, त्यसमा युवा खेलाडीहरुको प्रदर्शनको आँकडा हेर्दा नेपाली क्रिकेट पुस्तान्तरणको प्रक्रियामा पुगेको भन्न सकिन्छ ?

पक्कै पनि हो, ज्ञानेन्द्र, पारस, शरद सन् २००३ मा श्रीलंकामा यू–१५ प्रतियोगिता खेल्न गएका थिए । उनीहरु नै अहिले हाम्रो टिमका मुख्य खेलाडी छन् । त्यतिबेलाका ५ खेलाडी अहिले टिममा छन् । र, अहिलेको हाम्रो टिमको बलियो पक्ष भनेको सिनियर र जुनियर खेलाडीको कम्बिनेशन हो ।

यू–१९ टिमबाट अहिले राष्ट्रिय टिममा आएका खेलाडीहरु साँच्चै प्रतिभावान छन् । हाम्रो पछिल्ला दुई प्रतियोगितामा सिनियरबाट कप्तान पारसबाहेक उल्लेखनीय प्रदर्शन गर्ने सबै खेलाडी जुनियर छन् ।

यसले नेपाली क्रिकेटको भविश्यलाई पनि प्रतिबिम्बित गरेको छ । अरु टिमहरुमा हेर्नुभयो भने सिनियर खेलाडीहरु अहिले पनि खेलिरहेका छन् । हङकङ, युएई लगायतका टिम सिनियर खेलाडीकै भरमा छ । हामीले पारसलाई सिनियर भन्छौं, अरु टिममा उभन्दा सिनियर खेलाडी खेलिरहेका छन् । तर, हाम्रोमा त पारसको लेभलमा अरु जुनियर खेलाडीहर आइसकेका छन् । यो हाम्रो बलियो पक्ष हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey