अभाव सक्षम प्रशिक्षकको होइन, एक्सपोजरको होः कराते प्रशिक्षक कुशल श्रेष्ठ

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१८
  • |
  • 443 पटक हेरिएको

नेप्लेज, १८ साउन ।  दशौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका कुशल श्रेष्ठ अहिले प्रशिक्षकको भुमिकामा छन् ।

दक्षिण एसियाली खेलकुद नजिकिँदै जाँदा कुशलले एउटा संकल्प लिएका छन्– आठौं पछिको सबैभन्दा राम्रो नतिजा ल्याउँछु । एउटा कार्यक्रममा त उनले घोषणा नै गरे,‘आठौं पछिको सबैभन्दा राम्रो सफलता प्रशिक्षकका रुपमा दिलाउँछु । दिलाउन सकिन भने प्रशिक्षक पद नै त्याग्छु ।’

दक्षिण एसियाली खेलकुदमा कुशलले एउटा स्वर्णसँगै एउटा रजत र २ कास्य पदक पनि जितेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि दर्जनौं पदकहरु जिते । राष्ट्रिय खेलकुद परिषद्ले संचालन गरेको एनआईएस प्रशिक्षक परीक्षामा उनी प्रथम भए । कुशल मेहनतमा विश्वास गर्छन् । र, सफलता हात पार्नेमा विश्वस्त छन् ।

नेपाली करातेले १९ वटा विधामा प्रतिष्र्धा गर्दैछ ।

करातेका विधाहरु

कुमुते पुरुषः ५० केजी मुनि, ५५ केजी मुनी, ६० केजी मुनि, ६७ केजी मुनि, ७५ केजी मुनि, ८४ केजी मुनि र ८४ केजी माथि

कुमुते महिलाः ४५ केजी मुनि, ५० केजी मुनि, ५५ केजी मुनि, ६१ केजी मुनि, ६८ केजी मुनि र ६८ केजी माथि

काताः पुरुष काता, महिला काता

टिमः पुरुष टिम काता, महिला टिम काता, पुरुष टिम कुमुते, महिला टिम कुमुते

के हाम्रा प्रशिक्षहरु सक्षम छैनन् ?

साग नजिकिँदै जाँदा विभिन्न संघहरुको एउटा प्राथमिकताको स्वर छ–वैदेशीक प्रशिक्षण वा विदेशबाट प्रशिक्षक बोलाएर प्रशिक्षण । यसले एउटा आम प्रश्न उठ्नु स्वभाविक हो ।

यो सन्दर्भमा कुशल भन्छन्,‘हामी आफैं पनि अपडेटेड छौं ।’ ‘इन्टरनेटको, युट्युबको जमाना छ । सबै कुरा तुरुन्त अपडेट भइहाल्छ,’ कुशलले भने । वैदेशीक प्रशिक्षणले खेलाडीको स्तरमा बृद्धि हुने कुरामा उनी विश्वास भने गर्दछन् । ‘विदेशी प्रशिक्षक ल्याउँदा वा वैदेशीक प्रशिक्षणमा जाँदा नयाँ कुरा सिक्न पाइन्छ,’ कुशलले भने । ‘हाम्रा लागि उनीहरु नयाँ हुन्छन्, र हामी पनि उनीहरुका लागि नयाँ हुन्छौं ।’

करातेको टिमलाई पनि वैदेशीक प्रशिक्षण वा विदेशबाट प्रशिक्षक बोलाएर प्रशिक्षण गर्ने योजना बनिरहेको छ । यसको अर्थ नेपाली प्रशिक्षक सक्षम छैनन् भन्ने चाहीँ होइन । ‘हाम्रो समस्या अनुभवमै हो,’ प्रशिक्षक कुशलले भने ।

‘खुकुरी सान लायो काट्न पाएन भने भुत्ते भएर जान्छ, खिया लाग्छ । त्यही भएको हो ।’

‘हामी प्रशिक्षण गराउँछौं । तर, खेल्न जान पाइरहेका छैनौं ।’ जति धेरै एक्सपोजर पायो, त्यति प्रदर्शनमा पनि राम्रो हुने कुशलको बुझाई छ । नीति नियम बनाउनेहरुले पनि प्रशिक्षणसँगै एक्सपोजरलाई पनि प्राथमिकतामा राख्यो भने नतिजा राम्रो आउने विचार कुशलको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey