एक महिनाको बीचमा तीन म्याराथन कति व्यवसायिक ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२२
  • |
  • 369 पटक हेरिएको

फागुन २२, काठमाडौं । त्रिभुवन आर्मीका धावक हरि रिमालले फागुन ७ गते सफल पोखरा म्याराथन दौडिए र उपविजेता बने । हरिले त्यसको १० दिनपछि लुम्बिनी पिस म्याराथनमा पनि सहभागिता जनाए, त्यहाँ पनि उनी उपविजेता नै बने ।

पोखरामा २ घण्टा ३८ मिनेट ४६ सेकेण्डको टाइमिङ निकालेका हरिले लुम्बिनीमा २ घण्टा ५४ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पूरा गरे ।

काठमाडौं, पोखरा र लुम्बिनीमा गरी एक महिनाको बीचमा नेपालमा तीन म्याराथन प्रतियोगिता भए । पूर्व निर्धारित क्यालेण्डरबिनाको यी म्याराथनले खेलको स्तर माथि बढाउनुको सट्टा प्रत्युत्पादक बनिरहेको छ ।

यो तथ्य यहाँ उल्लेख गर्नु किन पनि सान्दर्भिक भयो भने एथ्लेटिक्सको अन्तर्राष्ट्रिय अभ्यास र सामान्य नियम विपरित हरिले १० दिनको अन्तरमा २ म्याराथन दौडिए । उनी सहभागी भएको पहिलो भन्दा दोस्रो रेसको टाइमिङ झनै खस्कियो ।

करिव १५ महिनाको इन्ज्यूरीपछि ट्र्याकमा फर्किएका हरिले पोखरामा पहिलो म्याराथन दौडिएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा १५०० मिटरमा स्वर्ण तथा ५ हजार र १० हजार मिटरमा रजत जितेका ओलम्पियन हरिले त्यसयता कुनै प्रतियोगितामा सहभागी भएनन्, त्यसैले अहिले उनी राष्ट्रिय टोलीमा पनि छैनन् ।

पोखरा म्याराथनबाट कमब्याक गरेका हरि भन्छन्, ‘लामो समय आराममा रहँदा फिट थिइनँ, आफ्नै फिटनेसको लागि दौडेको हुँ ।’

चोटमुक्त भएर फर्कनेबित्तिकै दुई म्याराथन दौडिएका हरिले चैतमा हुने राष्ट्रिय टिम छनोटमा ५ हजार र १० हजार मिटर दौडमा सहभागी हुने बताए ।

टाइमिङ खस्किएकोबारे जिज्ञासा राख्दा हरिले पोखरा र लुम्बिनी दुवैमा म्याराथन दूरी भन्दा धेरै राखिएको बताए । हरिका अनुसार म्याराथन भनेर पोखरामा ४४.५ किलोमिटर र लुम्बिनीमा ४७.६ किलोमिटर दौडाइएको थियो । त्यसैले आफ्नो टाइमिङ खस्किएको हरिको तर्क छ ।

नेपालकाे हकमा ५ महिना अाराम चाहिन्छः पूर्व प्रमुख प्रशिक्षक राणा

म्याराथनको अन्तर्राष्ट्रिय अभ्यास तथा विज्ञहरुको सुझाव अनुसार एउटा म्याराथन दौडिएपछि अर्कोका लागि तयार हुन कम्तिमा पनि तीन महिनाको समय चाहिन्छ । ४२.१९५ किलोमिटर दौडिएपछि एथ्लिटको बडी मसल पुनः फिट बनाउन ३ महिना आवश्यक हुन्छ ।

अझ नेपालको जस्तो हावापानी र ट्र्याकमा त ५ महिना रेष्ट टाइम आवश्यक हुने यसका विज्ञहरु बताउँछन् ।

त्यसो त धावकहरुले दौडनै नपाउने भन्ने चाहीँ होइन । एउटा प्रतियोगिता खेलिसकेपछि अर्को प्रतियोगिताका लागि खेलाडी आफैं सजग हुनुपर्ने बताउँछन् एथ्लेटिक्सका पूर्व प्रमुख प्रशिक्षक सुशील नरसिंह राणा । ‘धेरै प्रतियोगिता हुनु नराम्रो होइन, यसले खेलकुदलाई थप व्यवसायिक पनि बनाउँछ, तर खेलाडीहरु आफैंले आफूले कुन प्रतियोगिता खेल्ने र कुन नखेल्ने भन्ने छनोट गर्नुपर्छ ।’

‘खेलाडीले प्रतियोगिता छनोट गर्न सकेन भने आफ्नो करिअर आफैंले अन्त्य गर्ने बाटोमा उनीहरु हुन्छन् ।’ एथ्लेटिक्सका प्रशिक्षार्थी प्रशिक्षकसमेत रहेका राणाले भने, ‘हाम्रो जस्तो क्लाइमेटमा त म खेलाडीहरुलाई कम्तिमा ५ महिना रेष्ट लिन सुझाउँछु ।’

‘लामो संघर्ष, मेहतन र लगानीपछि खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा पदकका लागि योग्य हुन्छ, सानो लापरबाहीले उसको करिअर सकियो भने मजा आएन नि ! त्यसैले एथ्लेटिक्स संघले पनि खेलाडीले मेडल ल्यायो भनेर गर्व गर्नुभन्दा खेलाडीलाई लामो समयसम्म पदक जितिरहने कसरी बनाउने भन्ने सोच्नुपर्छ ।’

नेपालमा म्याराथन प्रतियोगिता खासै धेरै हुँदैन । भएकै प्रतियोगिता पनि एकै समयमा हुने गरेको छ । एथ्लेटिक्स संघले वार्षिक क्यालेण्डर बनाएर प्रतियोगितालाई नियमन गर्न सकेको छैन । यसले गर्दा एक महिनाको अन्तरमा तीनवटासम्म प्रतियोगिता हुने गरेको छ ।

राष्ट्रिय खेलाडीलार्इ त्यसरी दाैडाएका छैनाै‌ंः प्रमुख प्रशिक्षक यादव

एथ्लेटिक्सका प्रमुख प्रशिक्षक अमिर यादव भने राष्ट्रिय टोलीका खेलाडीहरुलाई त्यसरी नदौडाइएको बताउँछन् । प्रधानसेनापति म्याराथनबाट राष्ट्रिय टिम छनोट गरी माघ २३ गतेदेखि क्याम्प सुरु गरिएको बताउँदै प्रशिक्षक यादवले आसन्न एशियन गेम्स र सागलाई लक्षित गरी राष्ट्रिय टोलीका खेलाडीलाई अन्य प्रतियोगितामा जान बन्देज गरिएको बताए ।

राष्ट्रिय टोलीमा कृष्ण बस्नेत, गोपीचन्द्र पार्की र राजन खत्री छन् । उनीहरु प्रधानसेनापति म्याराथनमा शीर्ष तीन स्थान हासिल गरेका थिए । उनीहरुसँगै बाहिरका खेलाडीहरुसमेत समावेश गरी चैतमा राष्ट्रिय टोली छनोट हुनेछ ।

आवश्यक रेष्ट टाइमको ख्याल नगरी दौडने धावकहरु ‘मनी माइण्डेड’ भएको आरोप प्रशिक्षक यादवको छ । ‘हामीले सल्लाह दिइरहेका हुन्छौं, तर खेलाडीहरु पैसाको लोभमा एकपछि अर्को रेसमा जान्छन् ।’

संघकाे वार्षिक क्यालेण्डर खाेइ ?

धेरैजसो म्याराथन धावकहरु बिभागीय टोलीमा छन् । आयोजना भएजति सबै रेसमा खेलाडीहरुलाई खेल्न अनुमति दिँदा पनि बिभागले सोच्नुपर्ने हुन्छ । लामो लगानीपछि तयार भएका खेलाडीको करिअरमा सानो असावधानीले ठूलो धक्का पुग्न सक्छ । यसमा बिभाग, एथ्लेटिक्स संघ तथा प्रशिक्षक भन्दा पनि स्वयम् खेलाडी नै सावधान हुनुपर्नेछ ।

सन् १९८३ को पहिलो सागमा नेपाली धावक बैकुण्ड मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ३० सेकेण्डमा कीर्तिमान नेपालका मात्र होइन दक्षिण एशियाकै कुनै पनि धावकले अहिलेसम्म तोड्न सकेका छैनन् ।

मानन्धरजस्तै स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्य नेपालले लिएको हो भने एथ्लेटिक्स एशोसियसनले व्यवसायिकताका नाममा हुने सस्ता प्रतियोगिता नियमन गर्नुपर्दैन ? धेरै प्रतियोगिताले मात्र स्तरीय खेलाडी उत्पादन गर्ने भन्दा पनि व्यवस्थित र स्तरीय प्रतियोगिता अहिलेको आवश्यकता बनेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey