विश्वकप छनोटमा अनुभवी जिम्बावेविरुद्ध नेपाली युवा जोश

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 245 पटक हेरिएको

फागुन १९, काठमाडौं । आईसीसी एक दिवशीय विश्वकप छनोट प्रतियोगिताको अभियान नेपालले घरेलु टिम जिम्बावेविरुद्धको खेलबाट सुरु गर्दैछ ।

जिम्बावेको बुलावायोस्थित क्वीनस स्पोर्टस क्लबमा नेपाल र घरेलु टिम जिम्बावेवीचको खेल नेपाली समय अनुशार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

टेष्टको मान्यता प्राप्त जिम्बावेविरुद्ध नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो म्याच खेल्दैछ । अनुभवी खेलाडीहरुको बाहुल्य रहेको जिम्बाबे नेपाली टोलीका लागि कठिन चुनौति हो ।

जिम्बाबेको टोलीमा लामो समयदेखि खेलिरहेका ब्रेण्डन टेलर, ह्यामिल्टन मासाकाद्जा, सिकन्दर राजा, ग्रेम क्रिमरजस्ता खेलाडी छन् । त्यसको विपरित नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता छ । हालै सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको प्रदर्शनले नेपाली टिमको लय राम्रो अवस्थामा छ भन्ने प्रमाणित गरिसकेको छ ।

तर अन्तर्राष्ट्रिय क्रिकेटका उत्कृष्ट खेलाडीसँग खेलेको अनुभवसँगै जिम्बावेका खेलाडीका लागि घरेलु मैदानको पनि साथ रहनेछ । यस कारणले नेपाली टोलीलाई मैदानमा केही दबाब सिर्जना गर्न सक्छ ।

नेपालका कप्तान पारस खड्काले ठूला टोलीलाई प्रभावित पार्ने गरी प्रदर्शन गर्ने बताएका छन् । आईसीसीसँगको अन्तरवार्ताका क्रममा कप्तान खड्काले भने, ‘हामी यो स्तरमा पुग्दा निक्कै उत्साहित छौं, डिभिजन टू पनि हाम्रा लागि कठिन थियो त्यसलाई छिचोलेर हामी यहाँ आएका छौं र त्यो भन्दा अझै राम्रो क्रिकेट खेल्ने लक्ष्यमा छौं ।’

‘ठूला टिमहरुसँग खेल्दा दबाब त अवश्य पनि बढी भइहाल्छ, तर, जस्तोसुकै टिमँग पनि प्रतष्पिर्धा गर्न सक्छौं भन्ने विश्वास हामीसँग छ ।’ कप्तान पारसले अघि भने ।

नेपाली टोलीका पूर्व ओपनर तथा विकेटकिपर सुवास खकुरेलले पनि नेपाली टोलीले दवाव नलिइ खेल्दा नतिजा आफ्नो पक्षमा आउने बताए । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोट खेलेका उनले त्यस अनुभव सुनाउँदै भने, ‘हामीले न्युजिल्याण्डमा असफलता ब्यहोर्नुका धेरै कारणहरुमध्ये एउटा बढी महत्वाकाँक्षी भयौं कि भन्ने लाग्छ, त्यसैले टिमलाई मेरो सुझाव यो छ कि अहिलेको प्रतियोगितामा खेल्ने सबै टोली हाम्रै स्तरका छन् र उनीहरुसँग खेल्दा एक पछि अर्को खेलमा राम्रो गर्दै नतिजा ल्याउनुपर्छ, हामीले धैर्य गर्नुपर्छ ।’

नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । क्रिकेटर खकुरेलले पनि सुपर सिक्समा पुग्दा नेपालले अर्को चार वर्षका लागि एकदिवशीय मान्यता पाउने र स्तरोन्नतिका लागि त्यसले अहम भूमिका खेल्ने धारणा राख्छन् ।

समूह बीमा रहेको नेपालले अन्य खेलहरु फागुन २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, दिलिप नाथ, ललित भण्डारी, रोहितकुमार पौडेल, अनिल साह र ललित नारायण राजवंशी ।

जिम्बाबे टोलीः ग्रेम क्रिमर (कप्तान), ब्रेण्डन टेलर, ह्यामिल्टन मासाकाद्जा, सोलोमन मिरे, सिकन्दर राजा, टेन्दाइ चातारा, टेन्दाई चिसोरो, क्रिग इर्भाइन्, केल जर्भिस, पिटर मोर, ब्लेसिङ मुजाराबानी, ब्रेइन भिटोरी, माल्क्लोम वालर, सिन विलियम्स र सेफास जुवाओ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey