गणेशमान बक्सिङमा चन्द्रकला र सुलभ फाइनल भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२४
  • |
  • 251 पटक हेरिएको

त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र नेपाल एपीएफ क्लबकी सुलभ थापामगरले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को फाइनलमा भिड्ने भएका छन् ।

बिहीबार वसन्तपुर डबलीमा भएको ५४–५७ केजी तौल समूहको सेमिफाइनलमा दुवै खेलाडीले पहिलो राउण्डमा नै जित दर्ता गरे । चन्द्रकलाले प्रदेश ७ की निर्मला केसीलाई पराजित गरिन् । एपीएफकी सुलभले निकै प्रतिस्पर्धात्मक खेलमा प्रदेश ३ की कुसुम तामाङलाई हराउँदै फाइनल पुगिन् ।

६०–६४ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी पुनम रावलले प्रदेश २ की अपराजिता घतानेलाई तथा एपीएफकी सरस्वती रानाले प्रदेश ६ की अश्मिता चन्दलाई हराइन् । ५७–६० केजी तौल समूहमा एपीएफकी संगीता सुनारले प्रदेश ५ की संगीता दंगाललाई पराजित गरिन् । उनले फाइनलमा अर्मिकी सविना श्रेष्ठसँग खेल्नेछिन् । सविनाले प्रदेश १ की सोममाया लिम्बूलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेकी हुन् ।

महिला ५१–५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङ र पुलिसकी निशा तामाङ खेल्नेछन् । मिनुले प्रदेश २ कि तेजी गुरुङलाई तथा निशाले एपीएफकि संजुमाया थिङलाई पराजित गरिन् ।
महिला ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवान शेर्माले आर्मीकी ललिला महर्जनको चुनौती पार गरिन् । अर्को सेमिफाइनलमा प्रदेश ५ कि सुशिला थापाले प्रदेश ३ की सुष्मा तामाङबाट वाकओभर पाइन् ।

पुरुषतर्फ ६४ केजी तौल समूहमा आर्मीका सुरेश नेपाली, पुलिसका भुपेन्द्र थापा र एपीएफका सोनाम सार्कीले सेमिफाइनलमा स्थान बनाए । सुरेशले प्रदेश २ का किशोर शर्मा, भुपेन्द्रले प्रदेश ५ का विशाल रेग्मी र सोनामले प्रदेश १ का अभिनय राईलाई हराए । प्रदेश ६ का इन्द्र सुनारले प्रदेश ४ का पवन गुरुङलाई हराउँदै अन्तिम ४ मा स्थान बनाए ।

पुरुष ६९ केजी तौल समूहमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश ४ का सविन गुरुङलाई हराउँदै सेमिफाइनलमा पुगे । एपीएफका विकास लामाले प्रदेश ६ का विकास लामालाई हराउँदा प्रदेश१ का राजेश गुरुङले प्रदेश ५ का हेमराज चौलागाईंलाई दोस्रो राउण्डमा नकआउट गरे । प्रदेश ३ का मनीष डंगोलले प्रदेश ७ का वसन्तबहादुर सिंहलाई पहिलो राउण्डमा नै हराए ।

एपीएफका सुमन कार्कीले प्रदेश ५ का गणेश विकलाई पराजित गर्दै ७५ केजी तौल समूहको अन्तिम ४ मा स्थान बनाए । सोहि तौल समूहमा आर्मीका दिपक श्रेष्ठले प्रदेश ४ का अनिल थापामगर तथा प्रदेश ३ का दिवेश भूमिलालले प्रदेश ७ का विरेन्द्रबहादुर शाहीलाई हराए ।

पुरुष ८१ केजी तौल समूहमा आर्मीका रवी सुनारले प्रदेश १ का प्रशील रुचालबाट वाकओभर पाए । प्रदेश ५ का केशर खत्रीले एपीएफका गोकुल गुरुङलाई हराउँदै अन्तिम ४ मा स्थान बनाए ।

वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गर्नेछन् । उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताभरको उत्कृष्ट महिला र पुरुष खेलाडीले क्रमशस् स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey