म पलायन भएकी होइन, ओलम्पिकको तयारीमा छुः बिमला तामाङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-१२
  • |
  • 744 पटक हेरिएको

नेप्लेज, ११ साउन । नेपालले इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारी गरिरहेको छ । भदौ २ देखि १७ सम्म हुने प्रतियोगितामा नेपालले स्वर्ण पदकको अपेक्षा राखेको छ । चार वर्षअघि दक्षिण कोरियाको इन्चोन शहरमा आयोजना भएको १७औं एशियाडमा नेपालले एकमात्र काश्य पदक जितेको थियो । करातेको कातातर्फ बिमला तामाङले काश्य जितेर नेपाललाई पदकबिहीन हुनबाट जोगाएकी थिइन् ।

एशियाली खेलकुदजस्तो ठूलो प्रतियोगितामा पदक जितेकी बिमला १८औं एशियाडमा छनोट चरणमा प्रतियोगितामा सहभागी नहुँदा धेरैले उनको खोजी गरे । तर, एक वर्षअघि नै उनी अमेरिका पुगिसकेकी थिइन् । करिअरको उच्च लयमा रहेका बेला उनी अमेरिका पलायन भएकोमा धेरैले आलोचना गरे ।

उनै बिमला अहिले नेपालमै छिन् । एक साताअघि नेपाल आएकी बिमला तामाङ आफू पलायन भएको मान्न तयार छैनन् । उनका अनुसार राष्ट्रका लागि योगदान दिने मार्ग सहज बनाउन उनी अमेरिकामा छिन् । अमेरिकाको न्युयोर्कमा स्पोर्टस साइन्स अध्ययनरत उनले खेललाई पनि छाडेकी छैनन् । स्थानीय प्रतियोगितादेखि अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपसम्मका प्रतियोगितामा नियमित सहभागिता जनाइरहेकी उनले गत मे महिनामा भएको प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

एक साताअघि नेपाल आएकी उनीसँग हामीले करिअरको उच्च लयमा रहेको अवस्थामा किन बिदेशिएको ? भनेर सोधेका थियौं

अहिलेको अवस्थामा सबैले देखिरहेको कुरा हो नेपालमा खेलकुदमा लागेर कस्तो जीवन कस्तो हुन्छ । मलाई चाहीँ बिदेश जानैपर्ने त्यस्तो अवस्था थिएन । तर, कतिपय कुराहरु बाध्यता पनि छ । नयाँ नयाँ कुरा सिक्न र मैले अझै राम्रो गर्नका लागि यो ठाउँमा भन्दा त्यो ठाउँ राम्रो छ भने मैले यहीँ बसेर मात्रै पनि त हुँदैन नि !

म एउटै कुरा सिकेर मेरो स्तर त बढ्दैन । त्यसैले मैले यो स्तरमा पुगिसके पछि के सोचेँ भने अझै मैले मेरो जीवनलाई राम्रो बनाउने हो भने, मेरो देशलाई अझै धेरै सफलता दिलाउने हो भने मैले यो भन्दा बढी सिक्नुपर्छ भनेर म अमेरिका गएको हुँ । १ वर्षदेखि म अमेरिकामा छु ।

त्यहाँ मैले मेरै मुलुकलाई प्रतिनिधित्व गर्दै बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिरहेको छु । साथै आफ्नो करिअरलाई पनि अघि बढाइरहेको छु ।

तपाईंले अमेरिकामा स्थानीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको, पदक जितेको भन्नुभयो, त्यसबाहेक के गर्नुहुन्छ त्यहाँ ?

हजुर, मैले त्यहाँ प्रतियोगिताहरु पनि खेलिरहेकी छु । म न्युयोर्कमा बस्छु र त्यही नेपाली गुरुहरुले ने सञ्चालन गर्नुभएको डोजोमा प्रशिक्षण गरिरहेकी छु । प्रतियोगिताहरुमा पदक जितिरहेकी छु ।

मैले आफ्नो खेललाई छाड्ने भन्ने त कुरै आउँदैन । त्यहाँ पनि मैले खेल्नुका अलावा खेलकुदसँग सम्बन्धित विषयमा पढ्दै पनि छु ।

तपाई चार वर्षअघि १७औं एशियाडको एकमात्र पदकधारी नेपाली खेलाडीले १८औं एशियाडका लागि चाहीँ किन नआउनुभएको ?

 

पहिलो कुरा मैले चारवर्ष अघि एशियाडमा एकमात्र पदक नेपालका लागि जितेँ । सधैं मैले वा मेरै पुस्ताका खेलाडीले जितिरहन्छन् भन्ने पनि छैन । नयाँ खेलाडीहरुलाई पनि अवसर दिनुपर्छ । मैले एशियाडमा पदक जितिसकेपछि आफ्नो क्षमता बुझेँ र भविश्यमा मैले कहाँसम्म र कति प्रदर्शन गर्न सक्छु भनेर ‘लाइफ प्लान’ बनाइरहेको छु ।

मैले एशियन गेम्समा पदक जितेँ । अब म राष्ट्रिय स्तरमा झर्ने कि ओलम्पिकमा उक्लिने, त्यो कुरा म आफैंमा भर पर्ने कुरा हो । त्यसकारण मसँग अब अर्को अवसर छ ।

ओलम्पिक आउन अझै २ वर्ष बाँकी छ । मैले बिस्तारै प्रिमियर लिगहरु खेल्दै गएँ भने टोकियो ओलम्पिकका लागि मेरो सम्भावना हुन सक्छ नि त ! त्यसैले मेरो अहिलेको मुख्य टार्गेट भनेकै टोकियो ओलम्पिक हो ।

ओलम्पिकलाई नै टार्गेट गरेर ‘लाइफ प्लान’ बनाउँदै हुनुहुँदो रहेछ, अब ओलम्पिकमा पदक जित्नका लागि तपाईंको मास्टर प्लान चाहीँ के छ त ?

यस्तो छ, म पहिला शारीरिक रुपमा बलियो थिएँ, तर मानसिक रुपमा म कमजोर रहेछु । त्यो कुरा अहिले महशुस गर्दैछु । तर, अहिले मैले मानसिक रुपमा आफूलाई तयार बनाइरहेको छु । पछिल्लो एक वर्षमा मैले खेल्नमात्र होइन खेलकुदकै बारेमा पढेँ पनि । त्यसले मलाई धेरै सहयोग गरेको छ ।

यसबाट म मा एशियन गेम्समा गरेको भन्दा राम्रो प्रदर्शन गर्न सक्ने आत्मविश्वास आएको छ । र, म अब दुई महिनापछि युरोपमा प्रिमियर लिग आयोजना हुँदैछ । म त्यसमा सहभागिता जनाउँदैछु, ओलम्पिक सहभागिताका लागि त्यस प्रतियोगिता मेरा लागि महत्वपूर्ण छ ।

ओलम्पिक तयारी, प्रिमियर लिग सहभागिता लगायतका तपाईका योजनाहरु पूरा गर्न अमेरिका फर्कनुहुन्छ कि नेपालमै बसेर पूरा गर्ने सोचमा हुनुहुन्छ ?

नेपालको माहोल कस्तो छ भन्ने कुरा तपाईंलाई थाहा नै छ । मैले नेपालमै बसे पनि अमेरिकामै बसेर तयारी गरे पनि आखिर अन्तर्राष्ट्रिय सहभागितामा त नेपालकै प्रतिनिधित्व गर्ने हो नि ! म नेपालमै बस्नुपर्छ, नेपालमै बसेर प्रशिक्षण गर्नुपर्छ भन्ने पनि होइन । म बाहिर गएर पनि मैले मेरा देशका लागि केहि दिन्छु भने त्यो महत्वपूर्ण हो नि त !

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey