अन्नपूर्ण अन्तर्राष्ट्रिय व्याडमिण्टनमा बिभागीय खेलाडीको बर्चश्व

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-१०
  • |
  • 201 पटक हेरिएको

नेप्लेज, १० साउन । काठमाडौंमा जारी अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिण्टन प्रतियोगितामा खुल्लातर्फका स्पर्धामा बिभागीय टोलीका खेलाडीले बर्चश्व कायम गरेका छन् । सेमिफाइनल समीकरण पूरा हुँदा प्रायः खेलाडी बिभागीय टोलीका छन् ।

राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार सबै स्पर्धाको क्वार्टरफाइनल खेल सकिएका छन् । जसमध्ये पुरुष एकलतर्फ दुई बिभागीय खेलाडी सेमिफाइनलमा पुग्दा महिला एकलतर्फ त्रिभुवन आर्मी क्लवका तीन खेलाडीले अन्तिम चारमा स्थान बनाएका छन् ।

एपीएफका दिपेश धामी पुलिसका जीवन आचार्यलाई २१–१० र २१–९ को सेटमा हराउँदै सेमिफाइनलमा पुगे भने आर्मीका रुकेश महर्जनले आफ्नै बिभागका प्रफुल महर्जनलाई २१–१६ र २१–१६ ले हराए ।

बंगलादेशी खेलाडी मोहम्मद सलमान खानले भारतीय खेलाडी शुभ दयेलाई २१–९ र २१–९ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगे । त्यस्तै सिल्कका प्रिन्स दाहालले पनि पुलिसका बिष्णु कटुवाललाई २१–१४ र २१–८ ले हराए ।

महिला एकलतर्फ उपाधि दावेदार नेपाल नम्बर १ नङशलदेवी तामाङले बाँकेकी सम्झना सर्मालाई २१–१० र २१–९ ले हराउँदै सेमिफाइनलमा पुगिन् । आर्मीकै रशिला महर्जन र अमृति गिरीले क्रमसः एपीएफकी शोभा गौचन र भोजपुरकी सीता राईलाई हराउँदै सेमिफाइनलमा पुगे । पाकिस्तानकी साहजाद माहूरले आर्मीकी अनु राईलाई २१–११ र २१–११ को सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गरिन् ।

प्रतियोगिताको यू–१९ ब्वाइजतर्फ आर्मीका प्रफुल महर्जनले प्रदेश १ का प्रनिश सिंह ठकुरीलाई २१–९ र २१–७ को सहज सेटमा पराजित गरे । पुरुष एकलमा पराजित भए पनि प्रफुलले यू–१९ तर्फ सम्भावना कायमै राखेका छन् । यस स्पर्धामा आर्मीकै रुकेश महर्जनले प्रदेश ४ का बिधान अधिकारी तथा सिल्कका प्रिन्स दाहालले कर्णाली प्रदेशका निरञ्जन चौधरीलाई हराए ।

यू–१९ गर्ल्सतर्फ नेपाल पुलिसकी जेसिका गुरुङले प्रदेश ४ की आकृती केसीलाई २१–६ र २१–११ को सोझो सेटमा हराइन् । प्रदेश १ की निता लम्सालले जेष्ठ ब्याडमिण्टन क्लवकी श्रद्धेया प्रधानलाई २१–१३ र २१–१२ ले हराउँदा कञ्चनपुरकी रञ्जना भट्टले प्रदेश २ की चित्रा हरितवाललाई २१–६ र २१–६ को सेटमा पाखा लगाइन् । आर्मीकी रशिला महर्जनले पुलिसकी रोजी पाण्डेलाई २१–१० र २१–७ ले पराजित गरिन् ।

प्रतियोगिताको सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey