सुर्खेत । दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो पदक हात पारेको छ । आइतबार सम्पन्न महिला बास्केटबल (३×३) तर्फ कर्णालीले रजत पदक हात पारेको हो ।
आइतबार भएको (३×३) विधाअन्तर्गतको खेलमा नेपाल आर्मी पहिलो भएको छ । नेपाल आर्मीले १३ अंकसहित स्वर्ण पदक हात पारेको छ भने कर्णाली दोस्रो भएको छ । कर्णालीले ९ अंकसहित रजत पदक हात पारेको छ ।
यस्तै, महिला बास्केटबल (३×३) कै आइतबारको फाइनल खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लब पहिलो भएको छ । १६ अंकसहित पहिलो हुँदै एपीएफले स्वर्ण पदक हात पारेको छ भने बागमती प्रदेश ७ अंकसहित दोस्रो हुँदै रजत पदक हात पारेको छ ।
फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फको फाइनल खेलमा नेपाल पुलिस क्लब पहिलो भएको छ । नेपाल पुलिसले ६७ अंकसहित स्वर्ण पदक हात पारेको छ भने सुदूरपश्चिमले २८ अंकसहित रजत पदक हात पारेको छ ।