महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल प्रवेश

  • Image नेप्लेज
  • १३ मंसिर २०८३, आइतवार
  • 65 पटक हेरिएको
महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल प्रवेश

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

टस जितेर व्याटिङको निम्तो दिएको आर्मीले सुदूरलाई ६९ रनमै रोक्न सफल भयो । जवाफी व्याटिङ थालेको आर्मीले १० ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

सुदूरपश्चिमका लागि ऋतु अनौजियाले १९ र यशु पाण्डेले १२ रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन् । ओपनर अनु कडायत सात, अनषिा बोहरा दुई, रविना बोहोरा चार, हिसिला खड्काले तीन रन बनाए । सुदूरपश्चिमका स्नेहा महरा, रविना साउँद, ममता चन्द र सविना नेगीले शून्यमै आउट भए । सुदूरपश्चिमले ६९ रन बनाउँदा २० रन अतिरिक्त प्राप्त गरेको थियो ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी लक्ष्मी साउँदले महत्वपूर्ण चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले १७ रन खर्चिइन् । यस्तै आर्मीकी इश्वरी विष्टले तीन ओभर बलिङ गर्दै १६ रन खर्चिएर दुई विकेट हात पारिन् । मनिषा उपाध्यायले चार ओभर बलिङ गर्दै दुई ओभर मेर्डन राख्दै ६ रन खर्चिएर एक विकेट हात पारिन् ।

आर्मीकी संगीता गुरुङको नाममा एक विकेट रह्यो । ७० रनको लक्ष्य पछ्याएको आर्मीले १० ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । आर्मीकी कविता कुँवरले नटआउट २० रन र लक्ष्मी साउँदले नटआउट १८ रनको पारी खेले । कविताले २० रन बनाउन १७ बलको सामना गरेकी थिइन् उनले दुई छक्का प्रहार गरिन् । लक्ष्मीले ११ बलम तीन चौकाको मद्दतमा १८ रनको नटआउट पारी खेलिन् ।

ओपनर सम्झना खड्काले १६, रुवि पोद्दार १३ र विन्दू रावलले एक रन बनाए । विन्दू र रुवि रनआउट भएका थिए भने सुदूरपश्चिमकी अनु कडायतले आर्मीको एक विकेट लिइन् । सुदूरपश्चिमका महत्वपूर्ण चार विकेट र टीमका लागि १८ रनको नटआउट पारी खेलेकी आर्मीकी लक्ष्मी साउँद प्लेयर अफ द म्याच भइन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment