एनपीएलका ६ खेलमा नेपाली खेलाडीको दबदबा, ६ खेलका 'प्लेयर अफ द म्याच' सबै नेपाली खेलाडी

  • Image नेप्लेज
  • १३ कार्तिक २०८३, शुक्रवार
  • 110 पटक हेरिएको
एनपीएलका ६ खेलमा नेपाली खेलाडीको दबदबा, ६ खेलका 'प्लेयर अफ द म्याच' सबै नेपाली खेलाडी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सम्पन्न सुरुआती ६ खेलका प्लेयर अफ द म्याच सबै नेपाली खेलाडी बनेका छन्। ब्याटिङ र बलिङमा प्रभावशाली प्रदर्शन गर्दै उनीहरूले आफ्नो टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएका छन्।

उद्घाटन खेलमा लुम्बिनी लायन्सका शेर मल्लले सुदूरपश्चिम रोयल्सविरुद्ध ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। उनको प्रदर्शनमा लुम्बिनीले सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै ७ विकेटको जित निकालेको थियो।

दोस्रो खेलमा चितवन राइनोजका कमलसिंह ऐरीले विराटनगर किङ्सविरुद्ध ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। उनको उत्कृष्ट बलिङमा चितवनले विराटनगरलाई ८ रनले पराजित गरेको थियो।

तेस्रो खेलमा कर्णाली याक्सका युनिशविक्रम सिंह ठाकुरीले जनकपुर बोल्ट्सविरुद्ध ४ ओभरमा २२ रन दिँदै ३ विकेट लिए। उनको बलिङमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो।

चौथो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्सविरुद्ध ३६ बलमा अविजित ५१ रन बनाए। उनले बलिङमा पनि २१ रन खर्चेर १ विकेट लिए। उनको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले ६ विकेटको जित निकालेको थियो।

पाँचौँ खेलमा जनकपुर बोल्ट्सका १७ वर्षीय राहुल यादवले काठमाडौं गोर्खाजविरुद्ध ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। उनको प्रभावशाली बलिङमा काठमाडौं १९.३ ओभरमा ११५ रनमा समेटियो। जवाफमा जनकपुरले ११६ रनको लक्ष्य १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो।

छैटौँ खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले विराटनगर किङ्सविरुद्ध अलराउन्ड प्रदर्शन गर्दै टोलीलाई लगातार दोस्रो जित दिलाए। उनले बलिङमा ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए भने ब्याटिङमा ३२ बलमा अविजित ६२ रन बनाए। चार चौका र तीन छक्का प्रहार गरेका सोमपालको प्रदर्शनमा कर्णालीले १८७ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै विराटनगरलाई ४ विकेटले हरायो।

सुरुआती खेलमा बलरहरूको प्रभावशाली प्रदर्शन र अलराउन्डरहरूको निर्णायक योगदानले एनपीएलमा नेपाली खेलाडीको क्षमता उजागर गरेको छ।