एनपीएलमा ७५ करोड रुपैयाँको कारोबार हुने अनुमान

  • Image नेप्लेज
  • ८ कार्तिक २०८३, आइतवार
  • 112 पटक हेरिएको
एनपीएलमा ७५ करोड रुपैयाँको कारोबार हुने अनुमान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

क्यानका कोषाध्यक्ष पदम खड्काले आइतवार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट विक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिएको हो।

उनका अनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ। टिकटिङलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने उनको भनाइ छ।

फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताए। यसअनुसार एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने उनको अनुमान छ।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्‍याउने अपेक्षा क्यानले गरेको छ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ #क्यान