एनपीएलको विश्लेषकका रूपमा शोएब अख्तर

  • Image नेप्लेज
  • ३० आश्विन २०८३, शुक्रवार
  • 166 पटक हेरिएको
 एनपीएलको विश्लेषकका रूपमा शोएब अख्तर

पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारणमा सहभागी हुने भएका छन्।

हिमालय स्पोर्ट्सले अख्तरलाई प्रतियोगिताका खेलअघि र खेलपछि प्रसारण हुने विशेष कार्यक्रम रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर का लागि विशेष अतिथिका रूपमा अनुबन्ध गरेको जनाएको छ।

‘रावलपिण्डी एक्सप्रेस’ उपनामले परिचित अख्तरको सहभागिताले नेपाली दर्शकले अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव र विश्लेषण प्रत्यक्ष रूपमा सुन्न पाउने अपेक्षा गरिएको छ।

अख्तरले सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले ४६ टेस्ट खेलमा १७८ विकेट, १६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २४७ विकेट तथा १५ टी–२० अन्तर्राष्ट्रिय खेलमा १९ विकेट लिएका छन्।

क्रिकेट इतिहासमा आधिकारिक रूपमा रेकर्ड गरिएको सबैभन्दा तीव्र बल फ्याँक्ने कीर्तिमानसमेत अख्तरकै नाममा छ। उनले सन् २००३ को आईसीसी क्रिकेट विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा बल फ्याँकेका थिए।

हिमालय स्पोर्ट्सको कार्यक्रममा अख्तरले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्राका अनुभव सुनाउने, खेलका प्राविधिक पक्षको विश्लेषण गर्ने तथा नेपाली क्रिकेटको सम्भावनाबारे चर्चा गर्नेछन्। उनको नेपाल भ्रमणका क्रममा क्रिकेटसम्बन्धी विशेष अन्तरक्रिया तथा प्रशंसकसँग भेटघाट कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ।

हिमालय स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक सुरज गिरीले अख्तरको सहभागितालाई नेपालको खेल प्रसारण क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका क्रिकेटरको अनुभव र विश्लेषण नेपाली दर्शकमाझ पुर्‍याउने अभियानमा यो सहकार्य अर्को महत्त्वपूर्ण कदम भएको बताए।

हिमालय स्पोर्ट्सले यसअघि भारतीय खेल प्रसारण क्षेत्रमा अनुभव हासिल गरेका प्रस्तोता नवनीत कृष्ण, आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्रायन तथा नेपालका पूर्व राष्ट्रिय खेलाडी बर्दान चालिसेलाई आफ्नो प्रसारण टोलीमा समावेश गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।

प्रतियोगिताका प्रत्यक्ष खेल प्रसारणसँगै हिमालय स्पोर्ट्सले खेलअघि र खेलपछिको विश्लेषण, विशेष अन्तर्वार्ता तथा क्रिकेटसम्बन्धी अन्य कार्यक्रमसमेत प्रसारण गर्ने योजना बनाएको छ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी