पाल्पामा क्रिकेट प्रतियोगिता आयोजना हुने

  • Image नेप्लेज
  • २९ आश्विन २०८३, बिहिवार
  • 46 पटक हेरिएको
पाल्पामा क्रिकेट प्रतियोगिता आयोजना हुने

पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहामा श्रीकृष्ण युवा क्लबले बडादसैँ तथा शुभ दीपावलीको अवसरमा वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लबका अनुसार यही कात्तिक २ गते साबिक वडा स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुनेछ ।

चाडपर्वको अवसरमा खेलकुदमार्फत ख्याहाका युवाहरूबीच आपसी भाइचारा, एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

क्लबका अध्यक्ष मदन पाण्डेका अनुसार प्रतियोगिताले कात्तिक ५ गतेदेखि सुरु हुने खुला क्रिकेट प्रतियोगिताका लागि ख्याहाको प्रतिनिधित्व गर्ने बलियो र अनुशासित टिम निर्माण गर्न सहयोग पुर्‍याउनेछ ।

प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गर्नुका साथै नयाँ तथा प्रतिभाशाली खेलाडीको पहिचान र नेतृत्व विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । मुख्य प्रतियोगिताको तयारीलाई थप प्रभावकारी बनाउन अभ्यास खेलहरू पनि सञ्चालन गरिने क्लबले जनाएको छ ।

क्लबले प्रतियोगितालाई सफल बनाउन स्थानीयवासी, बुद्धिजीवी तथा खेलप्रेमीहरूलाई सहयोग गर्न आग्रह गरेको छ । यसैबीच, श्रीकृष्ण युवा क्लबले कात्तिक ३ गते बृहत् साधारण सभा आयोजना गर्ने भएको छ ।

साधारण सभामा क्लबको संस्थागत दर्ता, विधान पारित, नयाँ नेतृत्व चयन तथा आर्थिक पारदर्शितालगायत विषयमा छलफल हुने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । क्लबले साबिक वडाका सम्पूर्ण खेलाडी समूहलाई समयमै टिम दर्ता गराई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।