सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

  • Image नेप्लेज
  • २८ आश्विन २०८३, बुधवार
  • 68 पटक हेरिएको
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ । सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो ।

एथर तेस्रो संस्करणको एनपीएलका लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोडिएको छ । समर्थकलाई एक स्कुटर उपहार दिने गरी एथर र सुदूरपश्चिमबिच सहकार्य भएको हो ।

यो सहकार्यअनुसार सुदूरपश्चिमका समर्थकमध्ये एक जनाले एथरको स्कुटर पाउनेछन् । उपहार कार्यक्रममा कसरी सहभागी हुने भन्नेबारे सुदूरपश्चिमले केही दिनमा जानकारी दिनेछ ।

विद्युतीय यातायातका साधनको प्रयोग प्रमुख सहरहरूभन्दा बाहिरका क्षेत्रमा समेत विस्तार हुँदै जाँदा एथर नेपालले ग्राहकहरूको सवारी साधन प्रयोग तथा स्वामित्वको अनुभवलाई थप सहज र विश्वसनीय बनाउन आफ्नो मर्मतसम्भार सेवा तथा चार्जिङ सञ्जाललाई पनि निरन्तर विस्तार गर्दै आएको छ ।

एथरको ‘एट सेभेन्टी ब्याट्री वारेन्टी’ अन्तर्गत लागू हुने वारेन्टीका सर्तअनुसार ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरमध्ये जुन पहिले पूरा हुन्छ, त्यति अवधिसम्मको वारेन्टी सुविधा उपलब्ध छ । एथर नेपालले देशभर आफ्नो मर्मतसम्भार सेवा तथा चार्जिङ सञ्जाल विस्तार गर्दै आएको छ ।

हाल देशभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र र ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र उपलब्ध रहेको ब्रान्ड प्रमुख खानले उल्लेख गरे । यसले ग्राहकलाई यात्राका क्रममा चार्जिङ सुविधा र स्कुटरले एकपटकको चार्जमा तय गर्न सक्ने दूरीबारे हुने चिन्ता कम गर्न तथा अझ बढी आत्मविश्वासका साथ यात्रा गर्न सहयोग पुर्‍याउने खानको विश्वास छ ।

एथर नेपालका ब्रान्ड प्रमुख सलमान खानले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘नेपालको तीव्र रूपमा लोकप्रिय हुँदै गएको खेलकुद मञ्च र क्रिकेटप्रेमीको उत्साही समुदायसँग जोडिने अवसरका रूपमा यो सहकार्य एथरका लागि नयाँ र रोमाञ्चक अध्याय हो,’ उनले भने । यस संस्करणलाई समर्थक, ग्राहक तथा एथर परिवारका सम्पूर्ण सदस्यका लागि अझ रोमाञ्चक र यादगार बनाउने खानको विश्वास छ ।

‘यस सहकार्यको उद्देश्य एथर ब्रान्डप्रति आकर्षण बढाउनु, विद्युतीय यातायातलाई अझ धेरै मानिसमाझ पुर्‍याउनु तथा एथर र क्रिकेट दुवैले प्रतिनिधित्व गर्ने ऊर्जा, महत्त्वाकांक्षा र जोशलाई उत्सवका रूपमा मनाउनु हो,’ उनले भने । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एथरसँगको सहकार्यले थप समर्थकलाई जोड्न सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले समर्थकलाई स्कुटर उपहार दिने प्रचलन नेपाली खेलकुदमा नयाँ भएको भन्दै यो कदम ऐतिहासिक भएको बताए । उनले भने, ‘एथरसँगको सहकार्यले हाम्रो यात्रालाई सहज त बनाउने नै छ । समर्थकलाई टोलीसँग जोड्न उत्साह पनि थप्छ ।’ सुदूरपश्चिम एनपीएलको दुवै संस्करणको उपविजेता टोली हो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी