यू–१७ रग्बीमा कटारीलाई दोहोरो उपाधि, फिक्कल दुवैतर्फ उपविजेता

  • Image नेप्लेज
  • २६ आश्विन २०८३, सोमवार
  • 51 पटक हेरिएको
यू–१७ रग्बीमा कटारीलाई दोहोरो उपाधि, फिक्कल दुवैतर्फ उपविजेता

सिन्धुली । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि कटारी नगरपालिकाले जितेको छ।

सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न फाइनलमा आयोजक फिक्कल गाउँपालिकाका महिला र पुरुष टोलीलाई पराजित गर्दै कटारीले दुवैतर्फको उपाधि जितेको हो।

महिलातर्फको फाइनलमा कटारीले फिक्कललाई १–० ले हरायो भने पुरुषतर्फ पनि कटारीले फिक्कललाई २–१ ले पराजित गर्‍यो। दुवैतर्फको उपाधि जितेको कटारीले ३०/३० हजार रुपैयाँसहित च्याम्पियन ट्रफी प्राप्त गर्‍यो। दुवैतर्फ उपविजेता बनेको फिक्कलले २०/२० हजार रुपैयाँमा चित्त बुझायो।

महिलातर्फ टोखा नगरपालिकालाई १–० ले पराजित गर्दै बुढानीलकण्ठ नगरपालिका तेस्रो भयो। पुरुषतर्फ भने बुढानीलकण्ठलाई अतिरिक्त समयमा फाउलका आधारमा ३–० ले हराउँदै गोलबजार नगरपालिका तेस्रो बन्यो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। तेस्रो भएका दुवै टोलीले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। प्रतियोगितामा कटारीकी सानामिका मगर महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन्।

पुरुषतर्फ उपविजेता फिक्कलका शिशिर ढकाल उत्कृष्ट खेलाडी चुनिए। दुवै खेलाडीले ट्रफी प्राप्त गरे। विजेता तथा उपविजेता टोलीका खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटालगायत अतिथिहरूले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरे।

कार्यक्रममा फिक्कल गाउँपालिकाकी अध्यक्ष तथा सङ्घकी बोर्ड सदस्य पार्वती सुनुवार, सङ्घका महासचिव गोविन्द घिमिरे, गाउँपालिकाका उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर राजनमगर, मधेस प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठ, स्वर्गीय शिखर ढकालका पिता खगेन्द्र ढकाल, सुनकोसी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी घिमिरे तथा बागमती प्रदेश रग्बी सङ्घका बोर्ड सदस्य प्रकाश बराललगायतको उपस्थिति थियो।

पहिलो सेमिफाइनलमा महिला र पुरुष दुवैतर्फ बुढानीलकण्ठलाई पराजित गर्दै आयोजक फिक्कल फाइनलमा पुगेको थियो। कटारीले महिलातर्फको अर्को सेमिफाइनलमा टोखा नगरपालिकालाई २–१ ले हराएको थियो भने पुरुषतर्फ गोलबजार नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

समापन समारोहमा गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले प्रतियोगितामा सहभागी सबै टोलीलाई धन्यवाद दिँदै आगामी वर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिने विश्वास व्यक्त गरिन्।

फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरि ११ स्थानीय तहको सहभागिता रहेको थियो।