एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता

  • Image नेप्लेज
  • २३ भदौ २०८३, मङ्गलवार
  • 804 पटक हेरिएको
एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ ले अन्तर्राष्ट्रिय पहिचान पाएको छ । पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको यो साहसिक दौडले फ्रान्सको विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाबाट आधिकारिक मान्यता पाएको छ । साथै, अन्तर्राष्ट्रिय ट्रेल धावक सङ्घले यस दौडलाई ३ अङ्क प्रदान गरेको छ। मान्यता प्राप्त दौड पूरा गरेपछि धावकहरूले दुरी र उचाइको कठिनाइका आधारमा अङ्क पाउँछन्, जसले विश्वप्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौडहरूमा छनोट हुन सहयोग पुर्‍याउँछ। नेपालमा आयोजना हुने मञ्जुश्री, सिन्धुपाल्चोक र रनउकु जस्ता दौड प्रतियोगिताहरूले पनि यस्तो मान्यता पाइसकेका छन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदलाई पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले सार्थकता पाएको बताएका छन्। यसबाट स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु पुर्‍याउन सहज हुने विश्वास लिइएको छ। करिब ४८ किलोमिटर लामो यो दौडको उचाइ २ हजार ९ सय १४ मिटर रहेको छ। दौड पूरा गर्नका लागि अधिकतम ७ घण्टा ४५ मिनेटको समय सीमा निर्धारण गरिएको छ। भौगोलिक रूपमा चुनौतीपूर्ण मानिएको यो दौडले धावकहरूको सहनशीलता र क्षमताको वास्तविक परीक्षा लिनेछ।

यो दौडको सुरुवात समुद्री सतहबाट १ हजार ८ सय ३ मिटर उचाइमा रहेको निर्माणाधीन कोर्कु रङ्गशालाबाट भई महभीरतर्फ अघि बढ्नेछ । महभीर नेपालकै उत्कृष्ट चट्टान आरोहण र डोरीको सहारामा ओर्लिने गन्तव्यका रूपमा परिचित छ । त्यसपछि सिलगुडी पुगेर धावकहरूले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै कञ्चनजङ्घा, नुम्बुर, थामसेर्कु र मेरा पिक जस्ता हिमशिखरहरूको दृश्यावलोकन गर्न पाउनेछन् ।

दौडको सबैभन्दा उच्च बिन्दु ३ हजार १ सय ८१ मिटरमा रहेको कुधम उच्च शिविर हो, जहाँ यात्राका क्रममा धावकहरूले मनमोहक ब्लास झरनाको समेत अनुभव गर्नेछन् । ट्रेलको मुख्य धार्मिक स्थल कैलाशनाथ महादेव मन्दिर हो, जहाँ पौराणिक मान्यताअनुसार हलेसीबाट फर्कने क्रममा भगवान् महादेवले विश्राम गरेको जनविश्वास छ । कैलाशनाथ हुँदै दौड पुनः कोर्कु रङ्गशालामा पुगेर समापन हुनेछ ।