जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्सबाट अलग भएको उत्सव सिग्देलको घोषणा

  • Image नेप्लेज
  • २१ भदौ २०८३, आइतवार
  • 837 पटक हेरिएको
जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्सबाट अलग भएको उत्सव सिग्देलको घोषणा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सका सञ्चालक उत्सव सिग्देलले जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्स प्रालिबाट आफू सम्पूर्ण सञ्चालन तथा व्यवस्थापकीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा सिग्देलले आफू तत्काल प्रभावबाट दुवै संस्थाको दैनिक सञ्चालन, प्रशासन, वित्तीय निर्णय, खेलाडी तथा कर्मचारी व्यवस्थापन र अन्य सबै सञ्चालन सम्बन्धी भूमिकाबाट अलग भएको जानकारी दिएका हुन् ।

उनले अबदेखि आफ्नो नाम जनकपुर बोल्ट्स वा ड्रीम स्पोर्ट्स प्रालिको कुनै पनि आधिकारिक प्रतिनिधित्व, प्रतिबद्धता, कारोबार वा सञ्चारसँग नजोड्न अनुरोध गरेका छन्।

साथै, अबपछि संस्थाको तर्फबाट हुने कुनै पनि निर्णय वा दायित्वप्रति आफू जिम्मेवार नहुने स्पष्ट पारेका छन् ।

सिग्देलले जनकपुर बोल्ट्ससँगको यात्रामा साथ दिने सम्पूर्ण समर्थक, खेलाडी, कर्मचारी र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

उनले उक्त यात्राबाट प्राप्त अनुभव, अवसर र सम्बन्धलाई जीवनभर मूल्यवान् रूपमा सम्झने उल्लेख गरेका छन् ।

नेपाली खेलकुदप्रतिको आफ्नो प्रतिबद्धता भने यथावत रहने उनको भनाइ रहेकाे  छ ।

भविष्यमा नयाँ परियोजना र पहलमार्फत नेपाली खेलकुदको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै उनले जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्सको आगामी यात्राका लागि सफलताको शुभकामना दिएका छन् ।