विश्वकप क्रिकेट सुपर एट : भारतमाथि दक्षिण अफ्रिकाको एकतर्फी जित

दक्षिण अफ्रिका सेमिफाइनल नजिक

  • Image नेप्लेज
  • १० फाल्गुण २०८२, आइतवार
  • 7693 पटक हेरिएको
विश्वकप क्रिकेट सुपर एट : भारतमाथि दक्षिण अफ्रिकाको एकतर्फी जित

आइसीसी टी २० विश्वकप क्रिकेटको सुपर एटको पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको छ । योसँगै २०२४ को विश्वकप क्रिकेटदेखि अहिलेसम्म लगातार १२ खेलको अपराजित यात्रामा पनि पूर्ण विराम लागेको छ ।

आजको जितसँगै २०२४ को फाइनलमा भोगेको पराजयको बदला पनि दक्षिण अफ्रिकाले लिएको छ ।

अहमदाबादमा आइतबार राति सकिएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रनको बलियो योगफल खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ६७ रन जोडे भने डेभिड मिलरले विष्फोटक ६३ रनको योगदान दिए । भारतीय बलरहरूमध्ये जसप्रित बुमराहले किफायती बलिङ गर्दै १५ रन दिएर ३ विकेट लिए पनि अन्य बलरहरू महँगो सावित भए, जसका कारण दक्षिण अफ्रिकाले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न सफल भयो। सुरुआत भने दक्षिण अफ्रिकाको पनि राम्रो रहेको थिएन ।

२० रन बनाउँदा ३ विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि मध्यक्रमका व्याटरले सम्हालेका थिए ।

१८८ रनको लक्ष्य पछ्याएको भारतीय टोलीको सुरुवात भने निकै खराब रह्यो ।

भारतले खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो भने पावरप्लेभित्रै ३१ रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमाइसकेको थियो । इशान किशन शून्यमै आउट भएपछि दबाबमा परेको भारतीय मध्यक्रम पनि दक्षिण अफ्रिकी बलरहरूसामु टिक्न सकेन ।

भारतका लागि शिवम् दुबेले सर्वाधिक ४२ रन बनाए पनि अन्य ब्याटरहरूले साथ दिन नसक्दा टोली १८.५ ओभरमा मात्र १११ रनमा समेटिन पुग्यो । दक्षिण अफ्रिकाका लागि मार्को यानसेनले घातक बलिङ गर्दै २२ रन खर्चेर ४ विकेट लिए भने केशव महाराजले ३ विकेट लिएर भारतीय पारीलाई धराशायी बनाए ।  यो जितसँगै सुपर एटमा दक्षिण अफ्रिकाको शानदार सुरुआत भएको छ ।

अब दक्षिण अफ्रिकाले रनरेट पनि उत्कृष्ट राखेकाले अब वेस्टइन्डिज र जिम्बाबे मध्य एक टिममाथि जित दर्ता गर्दा सेमिफाइनल पुग्ने छ । उता भारतले पनि अब बाँकी २ खेलमा फराकिलो नतिजा निकाल्दै रनरेट सुधार गरेमा भने सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।