एनपीएलमा बजाज पल्सरको आवद्धता, खेलाडीले के पाउँछन् ?
-
नेप्लेज
- |
- २०८२-०७-१३
- |
- 191 पटक हेरिएको
बजाज पल्सर आसन्न नेपाल प्रिमियर लिग एनपीएलमा जोडिएको छ । नेपाल क्रिकेट संघ क्यानसँग विहीबार भएको सम्झौता अनुसार मंसिर १ गतेदेखि सुरुहुने एनपीएलमा तीन विधाका उत्कृष्ट खेलाडीले बजाज पलसर बाइक पाउने छन् । यसैगरी दिनहुँ इमर्जिङ प्लेयरलाई पनि क्रिकेट किट दिने पनि जनाइएको छ । काठमाडौंमा भएको सम्झौतामा बजाजको माउ संस्था गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर पछि निर्देशक गोल्छाले आसन्न एनपीएलका कारण आफू उत्साहित भएको बताउँदै नेपाली खेलकुदसँग लामो सम्बन्ध भएको चर्चा गरे । उनले भने ‘पल्सरले विगत २५ वर्षमा पल्सर स्पोट्र्स अवाड्र्स, ए डिभिजन फुटबल लिग, ट्राई नेशन क्रिकेट सिरिज, क्रिकेट पल्सर एक्सिलेन्स सेन्टरलगायत धेरै खेलकुद कार्यक्रमहरूमा लगानी र प्रायोजन गर्दै आएको छ ।’
यसैगरी पल्सरले तीन जना उत्कृष्ट खेलाडीहरूलाई तीन नयाँ पल्सर १६० सिसी मोटरसाइकल प्रदान गर्ने बताए । उनले सर्वाधिक रन बनाउने, विकेट लिने खेलाडी र सर्वोत्कृष्ट उदीयमान खेलाडीलाई बाइकबाट पुरस्कृत गरिने उल्लेख गरे ।
यस्तै, क्यानका सचिव खड्काले एनपीएलमा जोडिएकोमा बजाज पल्सरलाई धन्यवाद दिए । पल्सर र बजाज शब्द नेपाली खेलकुदमा जोडिएर आएको एउटा नाम भएको र खेलाडीहरूलाई गरेको प्रोत्साहन अतुलनीय रहेको स्पष्ट गरे ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको यो संस्करणमा बजाज पल्सर जोडिनुले नेपाल क्रिकेटप्रतिको कर्पोरेट सेक्टरको भरोसाको निरन्तरता दिएकोमा उनले खुसी व्यक्त गरे ।
सचिव खड्काले राष्ट्रिय टिम टी–२० विश्वकपमा छनोट भइसकेपछिको यो प्रतियोगिता एनपीएललाई भव्यताका साथ सम्पन्न गर्न नेपाल क्रिकेट संघ प्रतिबद्ध रहेको पनि बताए । एनपीएल मंसिर १ गतेदेखि सुरुहुँदै छ ।